संघ \संस्था

मेचीनगर ३ मा बाढीको असर, नगरप्रमुख बुढाथोकीद्वारा स्थलगत अवलोकन

मेचीनगर । अविरल वर्षाका कारण झापाको मेचीनगर— ३ का विभिन्न खोलामा आएको बाढीले खोला किनारका बस्ती डुवानमा परेका छन् । वडाका पहलेधाप धरधरे लगायतको क्षेत्र डुबानमा परेको हो । सो क्षेत्रका केही घरसमेत डुबानमा परेको छ । आइतबार रातिदेखि सोमबार बिहानसम्मको वर्षाले यस वडाका धेरै स्थान प्रभावित भएको छ ।

बाढीका कारण विद्युतका पोल ढल्ने अवस्थामा छन् भने रुखहरु ढलेका छन् । धानसहितको खेती कटान भएको छ भने अधिकाँश खेती भएको जमीन पुरिएर धानबालीमा क्षति पुगेको छ ।

मेचीनगर—३ मा सुकेनिन्दा, दोरोङ्गे र बाघपानी नदीमा आएको बाढीका कारण पहलेधाप धरधरेलगायतकाक्षेत्रमा क्षति पुगेको स्थानीय ज्ञानबहादुर तामाङले जानकारी दिनुभयो ।

मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी मेचीनगर वडा नं ३ का वडाध्यक्ष हर्क बस्नेतलगायतको टोलीले सोमबार बाढीले क्षति पुर्याएको सो क्षेत्रको स्थलगत अवलोकन गरेको छ । टोलीलाई स्थानीय सुर्यमान तामाङले इन्द्र पुलामी मगर, पुष्प पुलामी मगरको घर डुवानमा परेको, सुरज खातीको गाई बगाएकोलगायतका बाढी पुर्याएको क्षतिका बारेमा जानकारी दिनुभयो ।

नगरप्रमुख बुढाथोकीले स—साना नदीमा आएको बाढी स्थानीयको घर घरमा पसेपछि डुवानमा परेको, खेती योग्य जमीन कटान गरेको, निस्कन लागेको धानबाली पुरिएको, विद्युतका पोल ढल्ने अवस्थामा पुगेको, सडकमा रुखहरु ढलेका तथा स्थानीयका चौपाया समेत बगाएको जानकारी दिनुभयो । उहाँले तत्काल सम्बन्धित विद्युत प्राधिकरणलाई समयमै ढल्न लागेका विद्युतका पोलहरु र स्थानीय एक विद्यालयमा अव्यवस्थितरुपमा रहेको विद्युतको तारको उचित व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । वडाध्यक्ष बस्नेतलाई सडक मर्मत सम्भारकालागि वडा सरकारले जे गर्नुपर्ने हो तत्काल गर्न समेत निर्देशन दिनुभएको थियो । वडाध्यक्ष बस्नेतले मंगलबारबाटै ट्याक्टर परिचालन गरेर क्षति पुगेका सडकको उचित मर्मत तथा सम्भार गर्ने बताउनुभयो ।

हरेक नगरवासीको सुखः दुःखमा स्थानीय सरकारको साथ सहयोग रहने बताउदैं नगरप्रमुख बुढाथोकीले बाढीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गदैं तत्काल र दिर्घकालिनरुपमा यसको समाधान गर्न जे गर्नुपर्ने हो सवै स्थानीय सरकारले गर्ने स्थानीयवासीलाई आश्वासन दिनुभयो ।

अविरल वर्षाले पहलेधाप सामुदायिक भवनलगायतका संरचना समेत डुबानमा परेको छ । पानीसँगै आएको बाढीले यस क्षेत्रको सडक पनि बिगारेको छ । अधिकांश भित्री सडक र घरहरु जलमग्न भएको छ । ठाउँ ठाउँमा सडक बगाएका कारण आउँजाउँ गर्ने स्थानीयवासी प्रभावित भएको मेचीनगर नगरपालिका वडा नं ३ का वडाध्यक्ष हर्क बस्नेतले बताउनुभयो ।