समाचार

तास खेल्ने क्रममा विवाद हुँदा आफ्नै साथीको हत्या, तीन जना पक्राउ

झापा । दशैँको समयमा तास खेल्ने क्रममा विवाद हुँदा आफ्नै साथीको हत्या गर्ने तीन जनालाई झापा प्रहरीले सार्वजनिक गरेको छ । आज इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न तीन जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

अष्ठमीको दिनसँगै तास खेलेका ताप्लेजुङ सिदिम्बा –४ सुरुमखिम घर भई बिर्तामोड नयाँ बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका २५ वर्षीय नविन्द्र गुरुङको हत्या भएको थियो । सो घटनामा संलग्न इलाम –१ घर भई नयाँ बसपार्कमा ताप्लेजुङ इलाम होटल सञ्चालन गर्दै आएका ३८ वर्षीय इन्द्र बहादुर अधिकारी, पाँचथर फिदिम – १२ घर भई बसपार्कमै ताप्लेजुङ इलाम होटल सञ्चालन गर्दै आएका २१ वर्षीय अमृत आचार्य र पाँचथर फालेलुङ– ७ घर भई सोही होटल बस्ने आचार्यको श्रीमति २३ वर्र्षीया बिमला राईलाई प्रहरीले सार्वजनिक गरेको हो ।

घटनामा संलग्न थप एकजना फरार रहेको प्रहरीको भनाई छ । उनीहरुले घटनास्थलबाट १५० मिटर पूर्व भागमा लगेर शव लुकाउने प्रयास गरेका थिए ।

जुवा खेल्ने क्रममा विवाद हुँदा गुरुङलाई साथीहरुले टाउको पछाडिको भाग र नाकमा मसला पिस्ने लोहोरो र छुराले हिर्काएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले जानकारी दिए । उनले उच्चतम प्रविधिको प्रयोग र पाँचथर प्रहरीको सहयोगमा हत्यमा संलग्नहरुलाई प्रक्राउ गरेको जनाए छ ।