संघ \संस्था

मेचीनगर : ८ दिवसीय मेलमिलाप सम्बन्धि आधारभूत तालिम सम्पन्न

झापा । पछिल्लो समय समुदायस्तरमा विभिन्न किसिमका स-साना विवादहरू समयमा नै मिलाउन नसक्दा त्यसले ठुलठुला स-मस्या उत्पन्न हुने क्रमले तिब्रता पाइरहेको छ । यसरी समुदायस्तरमा विभिन्न किसिमका विवादहरू बढ्दै जाँदा न्याय सम्पादन गर्न भने थप सकस बन्ने गरेको छ ।

समुदाय स्तरमा न्याय सम्पादन गर्न नसक्दा स–साना विवादहरुले झन झन ठुलो रुप लिदैं जाँदा समाजलाई नै खलबलाउने देखिएपछि झापाको मेचीनगर नगरपालिकाले आफ्नो नगरभित्र चुस्तदुरुस्त न्याय सम्पानदका लागि आधारभूत तालिमको आयोजना गरी समुदायस्तरमा नै न्याय सम्पादनका लागि दक्ष जनशक्ती उत्पादन गरेको छ ।

“दिगो शान्तिका लागि, उन्नत सम्बन्ध” भन्ने मुल नाराका साथ मेचीनगरले आयोजना गरेको ८ दिवसीय मेलमिलाप सम्बन्धि आधारभूत तालिमले आफुहरुलाई समुदायस्तरमा न्याय सम्पादन गर्न थप सहयोग पुगेको तालिममा सहभागी प्रशिक्षाथीहरु गणेश खरेल बताउँछन् ।

मेचीनगर नगरपालिकाको न्यायिक समितिमा गत ८ महिनामा मात्रै विभिन्न प्रकृतिका ६३ वटा मुद्घा दर्ता भएका छन् । न्यायिक समिति संयोजक तथा उपप्रमुख मीना पोखरेल उप्रेतीको अनुसार सवैभन्दा बढी जग्गा लेनदेन सम्बन्धिका ३४ वटा निवेदन छलफलका लागि दर्ता भएका थिए । जसमा ५२ वटा किनारा लगाईसकेको छ । दोस्रो कार्यकालका लागि निर्वाचित भएकी उपप्रमुख उप्रेतीले अघिल्लो कार्यकालमा उल्लेखिय न्याय सम्पादन गरिएको भएता पनि न्याय सम्पादन यस कार्यकालमा अझ प्रभावकारी बनाउन लागि परेको बताउँछिन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को उपदफा ४ ‐ख) मा नगरपालिकाका उपप्रमुख र गाउँपालिकाका उपाध्यक्षका आठवटा काम, कर्तव्य र अधिकार उल्लेख छ । जस अन्तर्गत न्याय सम्पादनको जिम्मेवारी पनि उनीहरुमा नै पर्दछ ।

पालिका स्तरमा नगरपालिकाको न्यायिक समितिले आयोजना गरेको मेलमिलाप सम्बन्धि आधारभूत तालिमले समाजमा ससाना विवाद र समस्या निराकरण गर्न टेवा पुग्ने जिल्ला अदालत झापाका मुख्य न्यायाधीश चन्द्रमणि ज्ञावली बताउँछन् ।

नगरका १५ वटै वडामा गठित मेलमिलाप समितिलाई न्याय सम्पादनमा सहज र सरल होस भन्ने उदेश्यले आयोजित तालिममा सहभागी नगरका ४० जना प्रशिक्षर्थीहरुलाई जिल्ला अदालत झापाका मुख्य न्यायाधीश चन्द्रमणि ज्ञावली, ईलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महत्तो, प्राकृतिक श्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालका राष्ट्रिय श्रोत व्यक्त संगीता थापा, चेतराज विष्टलगायतले न्याय सम्पादन सम्बन्धि आधारभूत तालिम प्रदान गरेका थिए ।

मेचीनगर न्यायिक समिति सदस्य कुन्दन निरौलाले सञ्चालन गरेको समापन शत्रको कार्यक्रममा प्रमुख अतिथि जिल्ला अदालत झापाका मुख्य न्यायाधीश चन्द्रमणि ज्ञावली, न्यायिक समिति संयोजक तथा उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत होम भण्डारी, बरिष्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्ती, प्राकृतिक श्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालका राष्ट्रिय श्रोत व्यक्त संगीता थापालगायतले शुभकामना मन्तव्य राखेका थिए ।