समाचार

ताप्लेजुङमा वर्षासँगै बाढी : उद्दारको पर्खाइमा मेहेलेबासी

ताप्लेजुङ । चार दिनदेखि निरन्तर आएको वर्षासँगै बाढी पहिरोका कारण ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ८० घरका करिब चार सय परिवार विस्थापित भएका छन् ।

गाउँमा अहिले जताततै पहिरो गएको छ । पहिरोका कारण अहिलेसम्ममा तीन जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् भने तीन जना बेपत्ता छन् । उनीहरूको खोजि कार्य जारी रहेको छ । ३ दिन अघि ३ जना बेबत्ता र एक जनाको मृत्यु भएको थियो भने सोमवार दुई जनाको पहिरोमा पुरिएर मृत्यू भएको थियो । मृत्यु हुनेमा केशरकुमार राई र सुरेस राई रहेका छन् । उनीहरु बाबु छोरा हुन् । उनीहरुलाई झापा ल्याउने तयारी गरिए पनि मौसमका कारण ल्याउन सकिएको छैन ।

पहिरोमा परेर विस्थापित भएकाहरूलाई अहिले स्थानीय रत्न कडरिया र निलगिरी माविमा सारिएको ताप्लेजुङ जिल्ला बिकास समिति सदस्य कला कडरियाले जानकारी दिइन् । अन्य ठाउँ भन्दा सो ठाउ अलिक सुरक्षित रहेको उनले बताइन् ।

उनले अहिले सुरक्षित भनिएका ठाउँ नै पहिरोको जोखिममा छन् । भिरालो जमिन भएकाले ढिस्को भत्किएर पहिरो गइरहेको छ । जताततै पहिरो भएकाले उद्धार तथा राहतमा समस्या भइरहेको उनले बताइन् । ’यसरि नै निरन्तर पानी पर्ने हो भने अझ ठुलो दुर्घटना हुन सक्छ ’– मेहेलेमै जन्मिएका देबु बानियाले भने –’ अहिले पनि बाचिन्छ कि मरिन्छ भन्ने दोसाधमा मेहेले बासि छन् । उनिहरुलाइ सुरक्षित स्थानमा उद्दार गर्नु पर्ने र खाद्दन्न सहित बिपदका सामाग्री तुरुन्त लैजानु पर्नेछ । उनिहरु ३ दिनदेखि स्कुलमा आश्रय लिएर बसेका छन् ।

सुरुवातिदेखि नै मेहेलेको अवस्थाका बारेमा निरन्तर अपडेटमा रहेका पत्रकार समेत रहेका बानियाँले भने मेहेलेलाइ अहिले सबैको सहयोगको खाँचो छ । सबैले सहयोग गरौ ।

४ दिनदेखि निरन्तर आएको वर्षा अझै रोकिएको छैन् । अहिले साना खोल्सा तथा खोलामा बाढी आएर तर्न नसक्ने अवस्था छ । बाढीले बाटो बगाएको छ भने मौसम खराब हुँदा उद्धार र राहतका लागि हेलिकप्टरसमेत पुग्न सकेको छैन ।