शिक्षा

धुलाबारीमा रहेको मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर बालक गम्भीर घाइते

मेचीनगर । झापाको मेचीनगर–१० धुलाबारीमा रहेको एक मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर आठ बर्षीया बालिका गम्भीर घाइते भएकी छिन् । पूर्व–पश्चिम राजमार्ग उत्तर रहेको सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी)को शौचालयको सेफ्टी ट्यांकीमा डुबेर मेचीनगर–१० ओमशान्तिका तान्चोक लिम्बु गम्भीर घाइते बनेका हुन् । 

उनको अवस्था चिन्ताजनक छ । उनको अहिले विर्तामोडस्थित बिएण्डसी अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ । आज दिउँसो साडे १२ बजे खाजा खाइसकेपछि बालकलाई कोठामा नभेटिएको र खोजी गर्दा सेफ्टी ट्यांकीमा डुबेर बेहोसी अवस्थामा भेटिएको मन्टेश्वरीकी व्यवस्थापक अनिसा पोख्रेलले बताइन् ।

मन्टेश्वरीले सेफटी ट्यांकी सुरक्षामा गम्भीर लापारवाही गरेको देखिएको छ । सेफ्टी ट्यांकीमाथी मक्किएको प्लाइको टुक्रा मात्रै राखेर मन्टेश्वरीले दुर्घटना निम्त्याएको मेचीनगर १० का वडाध्यक्ष नारायण खनालले बताए । ससाना नानीहरुलाई सिकाउने ठाउँमै यस्तो लापरवाही गरिएको छ, ´सेफ्टी ट्यांकी जस्तो कुरामा हेल्चेक्र्याई भएको देखियो`, उनले भने ।

२०७० सालमा स्थापना भएको यस मन्टेश्वरीमा अहिले ६३ जना नानीहरु अध्यनरत् छन् । पिजीदेखि कक्षा १ सम्म पढाइ हुने उक्त मन्टेश्वरीका सञ्चालक मनोज गुरुङ हुन् । घटनापछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।