शिक्षा स्वास्थ्य

सेफ्टी ट्यांकीमा डुबेर गम्भीर बनेका बालकको उपचारका क्रममा अस्पतालमा मृत्यु

मेचीनगर । झापाको मेचीनगर–१० स्थित धुलाबारी सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी)को सेफ्टी ट्यांकीमा डुबेका बालकको मृत्यु भएको छ ।

८ वर्षीय बालक तान्चोक लिम्बुको आज विहान साढे १० वजे बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनलाई बीएण्डसी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । बालकको टाउकोमा पानी जमेको थियो भने निमोनियाले समेत ग्रस्त पारेको चिकित्सकको भनाई छ ।

बालक निन्दा पेट्रोलपम्प छेउ उत्तर पट्टी रहेको गार्टेनको शौचालयको सेफ्टी ट्यांकीमा सोमबार दिउँसो साढे १२ वजे डुबेको अवस्थामा फेला परेका थिए ।

१२ बजे खाना खाइसकेपछि बालकलाई कोठामा नभेटिएको र खोजी गर्दा सेफ्टी ट्यांकीमा डुबेर बेहोस भएको अवस्थामा भेटिएका थिए ।
उनलाई त्यतिखेर तत्काल उपचारका लागि बीएण्डसी अस्पताल लगिएको थियो ।

२०७० सालमा स्थापना भएको यस मन्टेश्वरीमा अहिले ६३ जना बालबालिकाहरु अध्यनरत् छन् । पिजीदेखि कक्षा १ सम्म पढाइ हुने सो मन्टेश्वरीका सञ्चालक मनोज गुरुङलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।