झापा । थ्री स्टार क्लबलाई पराजित गर्दै संकटा क्लब काठमाडौँ पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको दोस्रो क्वाटरफाइनल खेलमा थ्री स्टारलाई २–० गोल अन्तरले पराजित गर्दै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

संकटाको जितका लागि विदेशी खेलाडी यानिक र फोडे फोफोनाले गोल गरे । खेलको २५ औँ मिनेटमा डिबक्सभित्रबाट यानिकले प्रहार गरेको गोलले पोस्टको दिशा पायो । पहिलो हाफ १–० को अग्रता बनाएको संकटाले दोस्रो हाफमा थप एक गोल ग¥यो । खेलको ६३ औँ मिनेटमा फोडे फोफोनाले अर्को गोल थपे ।
प्रतियोगिताको दाबेदार मानिएको थ्री स्टारले पाएका अवसर सदुपयोग गर्न नसक्दा सान्त्वना गोलसमेत फर्काउन सकेन ।

मंगलबारको खेलको प्लेयर अफ द म्याच संकटाका गोलरक्षक रोहित कार्की भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ पाए ।
बुधबारको क्वार्टर फाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र भारत दार्जिलिङको एम एफसीबीच हुने आयोजकका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।
आयोजकले मंगलबार अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर महिला दर्शकलाई प्रवेश निःशुल्क गरेको थियो । कार्यक्रमको अध्यक्ष, प्रमुख अतिथि तथा सबै अतिथिहरु महिलाहरु मात्र थिए ।

