काठमाण्डौं, श्रावण १४ । श्रावण कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समुदायले घर शान्तिको कामनासहित घण्टाकर्णको पूजा गर्दै गठामुंग पर्व मनाउँदैछन् ।
यस दिन नेवार समुदायले आफ्नो घरगृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोगव्याधी नलागोस् भनेर घण्टाकर्णको पूजा गरी घर–घरबाट भूतप्रेत मन्छाउने गर्दछन् । विशेषगरी किसानले वैशाख महीनामा पर्ने अक्षय तृतीयाका दिन रोपाइँलगायतका बढी बल प्रयोग हुने कामका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले तान्त्रिक विधिले आह्वान गरेर बोलाएका भूतप्रेत, डाकिनी, शाकिनी, पिशाच आदिलाई तान्त्रिक विधिद्वारा नै बिदा गर्ने पर्वको रूपमा समेत लिइन्छ ।

