मेचीनगर। नेकपा एमालेको निकट अखिल नेपाल महिला संघ मेचीनगर समितिले समावेशी तीज विषेश तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । अनेमसंघ मेचीनगरले तीजको अवसरमा आज १२० वर्षीया वृद्वा पोहानी राजबंशीसहित दुई जनालाई सम्मान गरेको छ ।

काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा आयोजना गरेको तीज विशेष कार्यक्रममा मेचीनगर नगरपालिका–७ की ज्येष्ठ नागरिक १२० वर्षीया पोहानी राजबंशी र मेचीनगर–६ की १०४ वर्षीया जुजुधरा पोखरेललाई सम्मान गरेको छ ।
जेष्ठ आमाहरुलाई सम्मान गर्दै कार्यक्रमकी प्रमुख अतिथि अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोख्रेल उप्रेतीले सम्मानित आमाहरु प्रेरणाको श्रोत भएको बताइन् ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य विष्णु प्रसाईले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेकामा अनेम संघलाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा महिलाहरुले तीजका गीतमा छमछमी नाचेर सामूहिक दर समेत खाएका थिए । कार्यक्रममा मेचीनगर–६ को डान्डिया ग्रुपले डडिया नाच प्रदर्शन गरेको थियो ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटिका सल्लाहकार हरिचरण बानियाँ, धुलाबारी क्याम्पसका अध्यक्ष तथा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य भीम खवास, जिल्ला कमिटी सदस्य देवकुमार राई, नगर अध्यक्ष राजु पोखरेल, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष राजकुमार पराजुली, महिला नेतृहरु रेणुका डाँगी, संगीता थापा, शोभा खवास, रमा भण्डारी, निरु परियार लगायतको उपस्थिति रहेको थियो ।

अखिल नेपाल महिला संघ मेचीनगरकी अध्यक्ष जानुका ओलीको अध्यक्षतामाा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष हेमा शिवाकोटीले र सञ्चालन सचिव अनिता गुरागाईले गरेकी थिइन् ।

