स्वास्थ्य

मेचीनगरद्वारा स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

मेचीनगर । मेचीनगर नगरपालिकाद्वारा २० औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा अन्तरक्रिया तथा स्वास्थ्य स्वयमसेविका सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आज मेचीनगर सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन् कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।

स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाको संयुक्त प्रयास भन्ने मुल नाराका साथ आयोजित कार्यक्रमको अध्यक्षता मेचिनगर नगरपालिकाकी उपप्रमुख मीना पोख्रेल उप्रेतीले गरेकी थिइन् ।

अन्तरक्रिया संगै आयोजित सम्मान कार्यक्रममा मेचीनगरका पन्द्र जना महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरिएको छ । नगरपालिकाका १५ वटा वडा बाट एक एक जनालाई कार्यसम्पादनको आधारमा उत्कृष्ट सम्मान गरिएको मेचीनगर स्वास्थ शाखा प्रमुख सविता सापकोटाले जानकारी दिइन् ।

सामाजिक बिकास समिति संयोजक श्री हृदय राजवंशी, मेचीनगरका बरिष्ठ प्रशासकिय अधिकृत अनन्त प्रकास वस्ती, महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती खरेलको आतिथ्यता रहेको कार्यक्रममा, स्वस्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविकालगायतको उल्लेख्य सहभागिता रहेको थियो ।