संघ \संस्था

लोकतन्त्र दैनिकको प्रधान सम्पादकमा रेग्मी, पदभार सम्हाल्दै भने–‘जनविश्वासलाई अझ बलियो बनाउँछु’

झापा, भाद्र १ । लोकतन्त्र पोस्ट दैनिकको प्रधान सम्पादकको जिम्मेवारी युवा पत्रकार झुलन रेग्मीले सम्हालेका छन् ।
आइतवार एक समारोहविच पदभार ग्रहण गर्दै प्रधान सम्पादक रेग्मीले अहिलेसम्म आर्जन गरेको जनविश्वासलाई अझ बलियो बनाउँदै लोकतन्त्र दैनिकलाई नयाँ उचाईतर्फ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
‘लोकतन्त्र पोस्ट दैनिकको यो जिम्मेवारीलाई मैले चुनौतिसँगै समाजका लागि योगदान पुर्याउने महत्वपूर्ण अवसरको रुपमा लिएको छु’, प्रधान सम्पादक रेग्मीले भने–‘म एक्लैले केही गर्छु भन्ने होइन, मेरो पछाडि सक्षम र बलियो टिम भएकोले पत्रिकालाई अझ लोकप्रिय बनाउने अठोट गरेको हुँ ।’
उनले पत्रकारिता क्षेत्रमा लागेको डेढ दशक भए तापनि लोकतन्त्र पोस्टमा आएपछि आफुले धेरै सिक्न पाएको अनुभव सुनाउँदै सहकर्मीहरुलाई टिम स्पिरिटमा काम गर्न सँधै प्रेरित गर्ने बताए ।
लोकतन्त्र पोस्ट दैनिकका सम्पादक÷प्रकाशक मोहन काजीको अध्यक्षता र मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य टिकाराम मग्रातीको प्रमुख आतिथ्यमा पद हस्तान्तरण कार्यक्रम भएको थियो ।

सो अवसरमा पत्रिकाका संस्थापक प्रधान सम्पादक काजीले नवनियुक्त प्रधान सम्पादक रेग्मीलाई माला र अबिर लगाएर प्रधान सम्पादकको कुर्सीमा आसिन गराएका थिए ।
पत्रकार प्रकाश पौडेलले सञ्चालन गरेको सो कार्यक्रममा प्रमुख अतिथि मग्राती, पत्रकार अर्जुन कार्की र पत्रकार खगेन्द्र घिमिरेले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
लोकतन्त्र पोस्ट प्रकाशनले मेचीनगर–९ निवासी ३० वर्षीय रेग्मीलाई भदौ १ गतेदेखि लागू हुने गरी प्रधान सम्पादकमा नियुक्त गरेको हो । विगत पन्ध्र वर्षदेखि पत्रकारितामा क्रियाशील युवा पत्रकार रेग्मी यस अघि लोकतन्त्र पोस्टको कार्यकारी सम्पादक हुन् । हालैका दिनहरुमा उनी रेडियो साथीको समाचार संयोजक र नेपाल न्यूज डटकमको झापा समाचारदाताको रुपमा कार्यरत थिए ।
उनले विवेचना दैनिक, प्रतिदिन दैनिक, कञ्चनजङ्घा टाइम्स दैनिक र तहल्का दैनिकमा विभिन्न पदमा रहेर सम्पादकको जिम्मेवारी वहन गरिसकेका छन् ।
झापाका अग्रज पत्रकारहरु नकुल काजी र लीला बरालसँग पत्रकारिताको अभ्यास गरेका युवा पत्रकार रेग्मी भाषा र शैलीको उत्कृष्ट शिल्पी मानिन्छन् भने राजनीतिक रुपमा सबैलाई समान र सन्तुलित व्यवहार गर्न सक्षम मानिन्छन् ।
पत्रकारिताको माध्यमबाट सामाजिक क्षेत्रमा योगदान पुर्याएवापत विभिन्न पुरस्कार र सम्मान प्राप्त गरिसकेका पत्रकार रेग्मीले लोकतन्त्र पोस्ट दैनिकलाई प्रदेश नं। १ को उत्कृष्ट ‘क’ श्रेणीको दैनिक पत्रिकाको गरिमामय उचाइमा पुर्याउन महत्वपूर्ण योगदान प्रदान गरेका छन् ।

Leave a Reply

Your email address will not be published.