स्वास्थ्य

विद्यार्थीहरुले गरे सेनेटरी प्याड बक्स स्थापना

विर्तामोड । झापाको विर्तामोड स्थित मनकामना कलेजमा त्यहाँ अध्ययनरत विद्यार्थीहरुले सेनीटरी प्याड बक्स स्थापना गरेका छन्,। छात्राहरुले महिनावारी हुँदा आपतकालीन अवस्थामा प्रयोग गर्न मिल्ने गरी बिएसडब्लु दोस्रो वर्षमा अध्ययनरत छात्र शोम्य शर्माको संयोजकत्वमा सेनेटरी प्याड बक्सको स्थापना गरिएको हो ।

सहज ढंगले प्याड उपलब्ध नहुँदा यसअघि विद्यार्थी छात्राहरुले पढाइ नै छाडेर छुट्टी बस्नुपर्ने र कतिपय छात्राहरु नियमित विद्यालय आउनै समस्या देखिएपछि यो समस्याको समाधान खोज्दै विद्यालयमै सेनेटरी प्याड बक्स स्थापना गरिएको हो । विद्यालय समयमा महिनावारी हुँदा अब छात्राहरुले गुणस्तरीय सेनेटरी प्याड पाउने र यसले धेरै सहज हुने विश्वास विद्यार्थीहरुले लिएका छन्,।

प्याड बक्स स्थापना गरेसँगै त्यसको आर्थिक व्यवस्थापन देखि लिएर आवश्यक पर्ने सेनेटरी प्याड निशा लामा नेतृत्वको टिमले उपलब्ध गराउने गरि उनको नेतृत्वमा व्यवस्थापन टिम तयार गरिएको छ भने त्यहाँ राखिएको प्याड सम्पुर्ण विद्यार्थी छात्राहरुले प्रयोग गर्न पाउने भएका छन्,।

सेनेटरी प्याड बक्स स्थापनाका लागि सुजाता महतरा, इश्रत बेगम, मन्दिप विष्ट, दिप्सन अधिकारी आभास पुरी लगायतको टिमले नेतृत्व गरेको थियोे ।

अध्ययनसँगै सामाजिक कार्यमा समेत संलग्न मनकामना कलेजका विद्यार्थीहरुले यसअघि जनचेतनामूलक कार्यक्रम , विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको सरसफाइ , डस्टविन वितरण गरेका थिए भने घर नभएकी विपन्न महिला सनिश्चरेकी बविता पन्चकोटीको घर निर्माण समेत गरिदिएका थिए ।

आगामी दिनहरुमा आत्महत्या निरुत्साहन, सामाजिक सञ्जालको सहि सदुपयोग , लागूऔषध दुर्व्यसनी विरुद्धको सचेतना अभियान लगायतका कार्यक्रमहरु गरिने बिएसडब्लु तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी प्रविण गौतमले जानकारी दिए। विद्यालयका सहायक प्रधानाध्यापक ध्रुब गौतम, सोसल वर्क डिपार्टमेन्टका संयोजक प्रभात सिवाकोटी ,शिक्षक राजु कडरीया लगायतको उपस्थितिमा सेनेटरी प्याड बक्स स्थापना गरिएको बिएसडब्लु चौथो वर्षमा अध्ययनरत छात्रा टीका भट्टराईले बताइन् ।

यस विद्यालयका विद्यार्थीहरुले गरिरहेको यो उदाहरणीय कार्यले महिला स्वास्थ सम्बन्धि जनचेतना फैलाउने र सबै विद्यार्थी छात्राहरुका लागि लाभदायक समेत हुने विद्यालयका शिक्षक शिशिर चम्लागाँईले बताए । साथै यस्ता प्रेरणादायी कार्यहरुलाई सबैले साथ सहयोग गर्दै व्यवहारिक रुपमा कार्यनयन गरिए यसले महिला स्वास्थ्य र अझै विद्यालयका विद्यार्थी छात्राहरुका लागि अत्यन्तै लाभदायक हुने समेत उनले बताए ।