मेचीनगर । झापाको बाहुण्डाँगीमा जारी दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा किलारामजोत एकलब्य युवा संघ भारतमाथि सानदार जीत हासिल गर्दै काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले अन्तिम चारमा स्थान सुरक्षित गरेको छ ।
कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा जारी प्रतियोगितामा किरामजोत एकलब्य युवा संघ भारतलाई ५–० को फराकीलो गोल अन्तरको सहज जीत निकाल्दै काँकरभिट्टा सेमिफाइनल प्रवेश गरेको हो ।

खेल शुरु भएको दुई मिनेट बित्न नपाउँदै काँकरभिट्टाका लागि मनकुमार लिम्बूले टिमलाई अग्रता दिलाए । २२ औँ मिनेटमा काँकरभिट्टाका खमिर गिल्सन कन्दङ्वाले टिमको अग्रता दोब्बर पारेका थिए । आशिष चापागाईको पासलाई सदुपयोग गर्दै खमिरले गोललाई जाली चुमाएका थिए । ३२ औँ मिनेटमा उदिप चेम्जोङको पासमा आशिष चापागाईले व्यक्तिगत एक गोल गरी टिमलाई ३–० को स्थितिमा पु¥याएका थिए । ३५ औं मिनेटमा मनकुमार लिम्बूले व्यक्तिगत दोश्रो गोल गर्दा पहिलो हाफमा काँकरभिट्टा ४–० को स्थितिमा रहेको थियो ।
त्यसैगरी, आशिष चापागाईले ६८ औं मिनेटमा गोल गर्दै जीत सुनिश्चित गराए । चापागाईले वान भर्सेस वानमा गरेको पहिलो प्रहार विपक्षी गोलरक्षक राजिव सिंहले बचाउँदा रिबाउन्ड भएको बललाई फ्लिक गर्दै गोल गरे । तुलनात्मक रुपमा किलारामजोत भन्दा काँकरभिट्टाले गोलको अवसर बढी सिर्जना गरेको थियो ।
काँकरभिट्टाको गोलरक्षक र डिफेन्स लाइनलाई चिर्न नसक्दा किरामजोतलाई गोलको खडेरी लागेको थियो भने काँकरभिट्टाले पाएको अधिकांश मौकालाई सदुपयोग गर्दै गोल ग¥यो । १६ औँ मिनेटमा सदिस राईको प्रहार सेकेन्ड बारमा लाग्दै फर्कियो । २७ औँ मिनेटमा किलारामजोतका लागि पासाङ दोर्जे तामाङको प्रहार विपक्षी गोलरक्षक देवान भुजेलले उत्कृष्ट बचाउ गरेका थिए ।
खेलको म्यान अफ दी म्याच आशिष चापागाई घोषित भए । उनले नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे । प्रतियोगितामा आवबाट सेमीफाइनलका खेलहरु सञ्चालन हुने छ । आजको पहिलो सेमिफाइनल खेल आयोजक बाहुण्डाँगी युवा क्लब र ब्रदर्स युनाइटेड चन्द्रगढीबीच दिनको ३ बजेदेखि हुने आयोजकले जनाएको छ ।

