संघ \संस्था स्वास्थ्य

नेपालको पत्रकारिता दक्षिण एशियामै राम्रो : पूर्वराष्ट्रपति यादव

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले ‘पत्रकार सहारा उपचार कोष’ मा एक करोड १ लाख ११ हजार १११ रुपैयाँ पुर्याएको छ । पत्रकार महासंघ झापाले ८ बर्षअघि स्थापना गरेको सो पत्रकार उपचार अक्षयकोषको सोमबार एक भव्य समारोहका बीच घोषणा गरेको छ ।

पूर्व राष्ट्रपति डा. रामवरण यादवले पत्रकार सहारा उपचार अक्षयकोषको घोषणा गरेका हुन् । साथै पूर्व राष्ट्रपति डा. यादवले सोही समारोहमा डिजिटल प्रविधिबाट पत्रकार महासंघ झापाको स्तरोन्नति गरिएको कार्यालय भवनको उद्घाटनसमेत गरे ।

कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति डा. यादवले २०४६ र २०६२/०६३ को जनआन्दोलनमा पत्रकारले निर्वाह गरेका योगदानका कारण देशमा परिवर्तन आएको बताए । उनले नेपाली पत्रकारिता जगत साउथ एसियामै सबैभन्दा अग्र स्थानमा रहेको बताए ।

नागरिकका सूचनाको हक प्रत्याभूतिका लागि जोखिम मोलेर अहोरात्र खटिने पत्रकारको उपचारमा सहयोग पुर्याउने उद्देश्यले विसं २०७३ पुस १६ गते उपचार कोषको स्थापना गरेको नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीले बताए । महासंघको आफ्नै कोषबाट चार लाख र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको पाँच लाख गरी ९ लाख रुपैयाँ जम्मा गरेर उपचार कोष स्थापना गरिएको थियो । उक्त कोषमा अहिले एक करोड ११ लाख १ हजार १११ जम्मा भइसकेको अध्यक्ष गिरीले जानकारी दिए ।

समाचार सङ्कलनको क्रममा हुने दुर्घटनामा घाइते भएका र विभिन्न रोग लागेर बिरामी हुने जिल्लाका पत्रकारलाई कोषले उपचारका लागि नगद सहयोग दिँदै आएको छ । कोषमा पत्रकारले जनही तीन हजार जम्मा गरेका छन् भने अधिकांश रकम विभिन्न दाताहरुले दिएको उनकोे भनाई छ ।

अब छिट्टै सोही अक्षयकोषबाट ६५ बर्षमाथिका अग्रज पत्रकारहरुलाई औषधि खर्च वापत मासिक रकम प्रदान गरिने योजना रहेको उनले बताए । कार्यक्रममा पत्रकार उपचार कोषमा सहयोग गर्ने दर्जनौं दाताहरुलाई सम्मान पत्रले सम्मानित गरिएको थियो ।

कार्यक्रममा कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीहरु हिक्मतकुमार कार्की, उद्धव थापा, पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष महेन्द्र गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।