राजनीति

प्रचण्डको अध्यक्षतामा नेकपाको बैठक

काठमाण्डौं, भाद्र ९ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक पहिलो पटक अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति विना बसेको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा बसिरहेको बैठकमा पार्टी एकताका बाँकी काम टुंग्याउने कार्यसूची रहेको जनाइएको छ ।
अध्यक्ष ओलीको अनुपस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकको अध्यक्षता गरेका छन् । नेकपाका वरिष्ठ नेता तथा तत्कालीन एमालेको नेतृत्व सम्हालिसकेका पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल प्रचण्डको दायाँबायाँ बसेका छन् ।
केही दिनअघि वरिष्ठ नेताको वरीयता संशोधनपछि पहिलो नम्बरमा पुगेका झलनाथ खनाल प्रचण्डको दायाँपट्टि बसेका छन् भने घटुवा गरेर वरिष्ठ नेताको दोस्रो नम्बरमा पुगेका माधवकुमार नेपाललाई प्रचण्डको बायाँपट्टि राखिएको छ । महासचिव विष्णु पौडेल प्रचण्डको ठ्याक्कै सामुन्ने बसेका छन् ।
बैठकमा अध्यक्ष, २ जना वरिष्ठ नेता र महासचिव छुट्टाछुट्टै कुर्सीमा बसेका छन् भने अन्य नेताहरू सामूहिक सोफामा बसेका छन् । बैठकको शुरूमा पत्रकारलाई तस्वीर खिच्न दिइएको थियो ।
पूर्व एमाले खेमाका पूर्व उपप्रधानमन्त्री वामदेव गौतम र उपप्रधानमन्त्री ईश्वर पोखरेल एउटा सोफामा बसेका छन् भने पूर्व माओवादी खेमाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अर्को सोफामा बसेका छन् ।
बैठकमा प्रवास कमिटी, महानगरपालिकाको अध्यक्ष र सचिव तथा बाँकी केन्द्रीय सदस्यको कार्यविभाजनका बारेमा छलफल हुने बताइएको छ । गत बिहीवार बसेको सचिवालय बैठकले प्रचण्डलाई बैठकको अध्यक्षता गर्ने जिम्मेवारी सुम्पेको थियो ।

Leave a Reply

Your email address will not be published.