झापा, कात्तिक २५ । विभागीय टिम त्रिभुवन आर्मी क्लब अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको च्याम्पियन बनेको छ । चर्च ब्वाइज युनाइटेडलाई २–० गोल अन्तरले हराउँदै आर्मीले उपाधि रक्षा गरेको हो ।
जायोन स्पोर्टस् क्लब बिर्तामोडको आयोजनामा झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको फाईनल खेलमा चर्च ब्वाइजलाई २–० गोल अन्तरले स्तब्ध पार्दै आर्मीले यो सिजनको पहिलो उपाधि जित्दै सुखद सुरुवात गरेको छ । आर्मीलाई जित दिलाउन कप्तान टेक बहादुर बुढाथोकीले दुवै गोल गरे ।
उपाधिसँगै आर्मीले १२ लाख ५० हजार नगद प्राप्त गरेको छ । उपविजेता चर्च ब्वाईजले ६ लाख २५ हजार रुपैयाँमा चित्त बुझायो ।

खेलको उत्कृष्ट गोलरक्षक आर्मीका गोलरक्षक विवश चौधरी घोषितहुँदा चर्च ब्वाइजका सुनिल खड्का उत्कृष्ट मिडफिल्डर घोषित भए । त्यस्तै, आर्मीका दिपक गुरुङ उत्कृष्ट रक्षक घोषित हुँदा आर्मीकै टंक बस्नेत गोल्डकपकै उत्कृष्ट फरवार्ड घोषित भए । फाइनल खेलको म्यान अफ दी म्याच चर्च ब्वाइजका अशोक खवास घोषितहुँदै पुरस्कृत भए । गोल्डकपकै उत्कृष्ट खेलाडी आर्मीका कप्तान टेकबहादुर बुढाथोकी घोषित भए । उनलाई झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले पुरस्कार प्रदान गरे । उत्कृष्ट प्रशिक्षकमा आर्मीकै नविन न्यौपाने घोषित भए ।
विजेता तथा उपविजेता टिमलाई १ नम्बर प्रदेशका मुख्यमन्त्री माननीय शेरधन राईले नगद तथा ट्रफी प्रदान गरे । भारतका दुई टिमसहित १० वटा टिमले गोल्डकपमा सहभागी जनाएका थिए ।

