समाचार

सभामुख पदमा निर्विरोध चुनिए अग्‍नि सापकोटा

काठमाडौं, माघ १२ । प्रतिनिधि सभाका सभामुख पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद् अग्‍निप्रसाद सापकोटा निर्विरोध चुनिएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसद् सुवास नेम्वाङले सापकोटालाई सभामुख पदमा निर्वाचित गरियोस् भन्‍ने प्रस्ताव पेश गरेका थिए । नेकपाका सांसद् देव गुरुङ र ओनसरी घर्ती र राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद् लक्ष्मणलाल कर्णले सो प्रस्तावको समर्थन गरेका थिए ।

सभामुख पदका लागि कांग्रेस लगायतका कुनै दलले पनि उम्मेदवार उठाएनन् । सापकोटा एकमात्र उम्मेदवार भएकाले उनी निर्विरोध सभामुख चुनिएको घोषणा सभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले गरे । सापकोटाका प्रस्तावक नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सभामुखका लागि उपयुक्त पात्र छनोट गरेको संसद्‍मा प्रमाणित भएको दावी गरे। उनले सभामुख चयनका लागि एक मात्र प्रस्ताव दर्ता हुनु संसद्का लागि सौभाग्यपूर्ण भएको बताए।

नव निर्वाचित सभामुखले सिंगै संसद्लाई विश्वासलाई लिएर अगाडि बढ्ने विश्वास उनले व्यक्त गरे । प्रस्तावको समर्थनमा बोल्दै पूर्व सभामुख ओनसरी घर्तीले संसद्‍मा सर्वसम्मत अवस्था सृजना हुनु सुखद रहेको बताइन् । उनले यसमा प्रमुख प्रतिपक्ष धन्यवादको पात्र भएको बताइन्।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सभामुखमा उम्मेदवारी नदिने पार्टीको निर्णय भएको बताए। उनले आफ्नो दलले उपसभामुख पाउला भनेर समर्थन नगरेको बताए। उनले आफूहरु कमण्डलु बोकेर माग्दै नहिंडेको बताए। नेपाली कांग्रेसले सभामुख को हुन्छ भनेर विवाद नगरेको बताए। गलत रुपमा प्रवेश भएको सभामुख र उपसभामुखकाे विवादले अहिले आएर सही बाटो समातेको उनले बताए।

उनले सभामुख चुनिएका सापकाेटालाई शुभकामना दिँदै हिजाे जुनसुकै दलकाे भएपनि आजबाट सबै दल सम्मिलित सभाकाे सभामुख भएकाे बताए ।
प्रतिनिधि सभाकाे अर्काे बैठक आगामी माघ १४ गते दिनकाे १ बजे बस्‍ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published.