विश्व

कोरोना भाइरस: मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

काठमाडौं, बैशाख १४ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा २ लाख २ हजार ४ सय ५५ जनाको मृत्यु भइसकेको छ । विश्वका २१० देशमा पुगेको कोरोना भाइरसबाट २८ लाख ९२ हजार जना संक्रमित भएका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ । कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा ५३ हजार ५ सय ११ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ९ लाख ३६ हजार रहेको छ ।

अमेरिकासहित पाँचवटा देशमा मृतक संख्या २० हजार भन्दा माथि छ । जसमा इटलीमा २६ हजार ३ सय ८४, स्पेनमा २२ हजार ९ सय २, फ्रान्समा २२ हजार ६ सय १४ र बेलायतमा २० हजार ३ सय १९ जनाको मृत्यु भएको छ ।

बेलायती गृहमन्त्री प्रिती पटेलले मृतकको यो संख्या दुखदायी भएको बताएकी छन् । तर बेलायतमा मृतक संख्यामा घरमा र नर्सिङ होममा मृत्यु हुनेको संख्या जोडिएको छैन । त्यसैले मृतक संख्या अझ बढी हुने अनुमान गरिएको छ ।

फ्रान्समा मृतकको कुल संख्यामा केयर होममा मृत्यु हुनेको संख्या पनि जोडिएको छ । त्यहाँ मृतक संख्या अघिल्लो दिनको तुलनामा शनिबार ३ सय ६९ जनाले बढेको छ ।

Leave a Reply

Your email address will not be published.