काठमाडौं, बैशाख १८ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा २ लाख २८ हजार २६ जनाको मृत्यु भइसकेको छ । विश्वका २१० देशमा पुगेको कोरोना भाइरसबाट ३२ लाख १८ हजार १८३ जना संक्रमित भएका छन् ।
विश्वव्यापीरुपमा एकै दिन कोरोनाका कारण बितेको २४ घण्टाको अवधिमा मात्रै ६ हजार ५५९ जनाको मृत्यु भएको छ भने ८१ हजार ६७७ जना संक्रमित भएका छन् । संक्रमित भएका १० लाख जना उपचारपछि घर फर्किएका छन् ।
चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ । कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६१ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म बितेको २४ घण्टामा थप २ हजार ३५२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६१ हजार ६१८ पुगेको हो ।
पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ५८६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १० लाख ६३ हजार ३५१ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये १ लाख ४७ हजार ११४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ८ लाख ५४ हजार ६१९ जनामध्ये १८ हजार ६७१ जनाको अवस्था गम्भीर छ ।
अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ३६ हजार ८९९ जना संक्रमित भएका छन् । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ४५३ जनाको मृत्यु भएको छ भने ४ हजार ७७१ जना नयाँ संक्रमित थपिएका छन् ।
योसँगै मृतकको संख्या २४ हजार २७५ पुगेको छ । १ लाख ३२ हजार ९२९ जना उपचारपछि निको भएका छन् । ७९ हजार ६९५ जना उपचाररत छन् । त्यसमध्ये ७ हजार ७६४ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ३२३ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २७ हजार ६८२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ८६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ३ हजार ५९१ पुगेको छ ।
इटालीमा संक्रमितमध्ये ७१ हजार २५२ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ४ हजार ६५७ जनामध्ये १ हजार ७९५ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट बेलायतमा २६ हजार ९७ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म १ लाख ६५ हजार २२१ जना संक्रमित भएका छन् । बेलायतमा एकैदिन ७६५ जनाको मृत्यु भएको छ भने अरु ४ हजार ७६ जना संक्रमण देखिएपछि कुल संक्रमितको संख्या १ लाख ६५ हजार नाघेको हो । सङ्क्रमितमध्ये १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।

