काठमाडौँ, असार २७ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले वैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चमै छिट्टै उद्धार सुरु गरिने बताउनुभएको छ ।
मन्त्री यादवले वैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको उद्धार तथा फिर्ता ल्याउनुपर्नेसम्बन्धी निर्देशिका २०७७ मन्त्रिपरिषद्बाट स्वीकृति हुनासाथ ती श्रमिकको उद्धार सुरु गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो, निर्देशिका तयार गरी अन्तिम स्वीकृतिका लागि अघिल्लो पटक नै मन्त्रिपरिषद्मा पेस भइसकेको छ, अब बस्ने मन्त्रिपरिषद्बाट स्वीकृत हुन्छ र स्वीकृत हुनेबित्तिकै वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरेर स्वदेश फर्काउन सुरु गर्छौं ।
मन्त्री यादवले विदेशमा विभिन्न कारणले जेलमा परी अप्ठ्यारोमा परेका नागरिकको उद्धार गर्ने काम अहिले पनि गरिरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, अब सम्मानित अदालतको आदेशको सम्मान गरेर कोष रकम प्रयोग गरेर उद्धार सुरु गर्छौं । सम्मानित अदालतको आदेशले पनि विदेशमा समस्यामा परेर टिकट काट्नै नसक्ने नागरिकलाई सरकारले उद्धार गर्ने भएकाले यसैलाई आधार बनाएर निर्देशिका बनाएको उहाँले जानकारी दिनुभयो ।

