संघ \संस्था

पूर्वाधार विकासमा मेचीनगर : प्राथमिकतामा ११ योजना

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले पूर्वाधार विकासमा ११ योजनालाई प्राथमिकतामा राखेको छ । शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रसँगसँगै पूर्वाधार विकासमा ११ योजनालाई प्राथमिकतामा राखेको हो ।

नगरपालिकाले प्राथमिकतामा राखेको योजनामा अनुसार काँकरभिट्टामा बहुउद्देश्यीय बस टर्मिनल, विजनेस तथा बसपार्क निमार्ण गरिनेछ । खेलकुदलाई मध्यनजर गरि नगर क्षेत्रभित्र एउटा स्टुडियम निमार्ण गरिने र खेलमैदानहरुलाई व्यवस्थित गर्ने योजना रहेको छ ।

बर्षायाममा बाढीवाट गाँउवस्ति जोगाउन निन्दा, सुकेनिन्दा, पालिया, टिमाई, हडिया, फुलावासा खोलामा तटवन्धनको योजना रहेको छ । मेची नदीमा तटवन्धनको निरन्तरता दिइने बताइएको छ । यो तटवन्धन निमार्णले हात्ति प्रवेशमा पनि केही नियन्त्रण हुने अनुमान गरिएको छ ।

नगरपालिकाले प्राथमिकतामा राखेका ११ योजना मध्ये मेची पारिको भुगोललाई जोड्न झोलुङ्गे पुल निमार्ण गरिनेछ । उद्योग ग्रामको स्थापना गरिनुकासाथै नगर अस्पताल निमार्णलाइ तिव्रता दिइने बताइएको छ । ठुला अधुरा सडक र पुल, निन्दा फुलावासा काली लगायतका नदीमा हरियाली नदी कोरिडोर निमार्ण गर्ने योजना रहेको छ ।

शुद्ध खानेपानीवाट नगरका केही पनि जनता बञ्चित हुन नपरोस् भनि भएकालाई व्यवस्थित र नयाँ आयोजनाको खोजी गरिने नगरपालिकाले प्राथमिकतामा राखेको ११ योजनामा समावेश गरिएको छ । काँकरभिट्टामा निमार्णधिन अधुरो भ्यूटावरलाई समेत निरन्तरता दिइने योजनामा उल्लेख गरिएको छ ।

नगरपालिकाले प्राथमिकतामा राखेको पूर्वाधार विकास योजनालाई सम्पन्न गर्नका लागि प्रदेश सरकार, संघिय सरकार र लगानी वोर्डसँग समन्वय गरिने नगर प्रमुख गोपाल बुढाथोकीले बताए ।