काठमाडौं / राष्ट्रिय खेलकुद परिषद राखेपले सातै प्रदेशका खेलकुद विकास समितिलाई पत्र लेख्दै आठौं राष्ट्रिय खेलकुद अन्तर्गत तेक्वान्दोत खेलको छनोट स्थगित गरेको छ । प्रदेश छनोटमा विवाद देखिएपछि राखेपले समितिलाई पत्र लेख्दै छनोट प्रक्रिया तत्कालका लागि रोक्न निर्देशन दिएको हो।

राखेपले अर्को निर्णय नभएसम्मका लागि तेक्वान्दो छनोट रोक्न प्रदेश समितिका नाममा पत्र काटेको छ । त्यसै गरी तेक्वान्दोको जिल्ला छनोट फागुन २५ गते र प्रदेश छनोट चैत १ गतेबाट अघि बढउने तयारी रहेको राखेप स्रोतले जनाएको छ । अहिले धमाधम प्रदेश कमिटिहरुले आठौं राष्ट्रिय खेलकुदका लागि विभिन्न खेलको छनोट अघि बढाईरहेका छन् ।
तेक्वान्दोमा दुई वटा संघ अस्तित्वमा रहदाँ राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगिताको संघारमा विवाद देखिदै आएको छ । राखेप सदस्य सचिव केशबकुमार विष्टले दुई संघको विवाद समाधानका लागि तेक्वान्दोको छनोट तत्काल रोक्नु परेको बताए । ‘खेलाडीमा कुनै समस्या छैन । यो विवाद पदाधिकारीको हो ।’ उनले भने, ‘विवाद समाधानमा दुवै पक्ष सहमत नभए ब्यानर र मञ्चबिनै तेक्वान्दोको छनोट अघि बढ्नेछ ।’

