समाचार

मेचीनगर प्रमुख बुढाथोकीले समाले कार्यभार, यस्तो छ पहिलो निर्णय !

मेचीनगर । मेचीनगर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले सपथ लिएसँगै कार्यभार सम्हालेका छन् ।

नगरपालिका कार्यालय परिसरमा विहीवार आयोजित सपथ ग्रहण समारोहमा नवनिर्वाचित नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले उपप्रमुख मीना उप्रेतीसहित सबै वडा अध्यक्ष र सदस्यहरूलाई एकमुष्ठ सपथ गराएका छन्।

नगरका प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य रविन कोइराला, प्रदेश सभा सदस्य राधा थापा, निवर्तमान नगर प्रमुख विमल आचार्य, एमाले नेता विष्णु प्रसाईं, काँग्रेस झापाका उपसभापति केशवराज पाण्डे, काँग्रेसबाट प्रमुख पदका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकी, माओवादीबाट उपप्रमुख पदका उम्मेद्वार प्रकाश भण्डारी, एमाले मेचीनगर इन्चार्ज देवकुमार राईले शुभकामना मन्तव्य राखेका थिए ।

नगरका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले स्वागत मन्तव्य राखेको कार्यक्रम नगरका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीको सञ्चालनमा सम्पन्न भएको थियो । यसअघि विहीवार नै जिल्ला अदालत झापाका मुख्य न्यायाधीशबाट मेचीनगरका नवनिर्वाचित नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले सपथ लिएका थिए ।

यस्ता छन् नगर कार्यपालिकाको पहिलो बैठकका निर्णयहरु !
१) मेचीनगर नगरपालिकाको आगामी पाँच बर्षको योजना तथा कार्यक्रम व्यवस्थीत एवं प्रभावकारी रुपमा कार्यान्वयन गर्न एकीकृत शहरी विकास योजना तयार गर्ने ।


२) नगरबासीहरुलाई आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउन चालु आ.ब १०७८/०७९  भित्रमा ४ वटा स्थानमा प्रयोगशाला सहितको स्वास्थ्य सेवा केन्द्रहरु संचालनको व्यवस्था मिलाउने ।


३) आगामी आ.व २०७९/०८० भित्रमा मेचीनगर नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने आवास विहिन अति सिमान्तकृत जाति समुदायको २५ घर परिवार पहिचान गरी आवासको लागि आवश्यक पर्ने कार्यविधि तयार गरी आवास कार्यक्रम कार्यान्वयन गर्ने ।


४) विश्व वातावरण दिवस, जुन ५, २०२२ भव्यताका साथ सम्पन्न गर्न सबै वडाहरुमा सरसफाई एवं वातावरणीय सचेतना कार्यक्रम संचालन गर्ने ।


५) नगरको समग्र कृषि क्षेत्रको विकासमा टेवा पुर्याउन सहकारी संस्थाहरुसंग आवश्यक समन्वय र सहकार्यको नीतिलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने ।


६) नगर क्षेत्रभित्र रहेका संगठित , असंगठित मजदुरहरुको स्वीकृत मजदुर पञ्जीकरण कार्यविधि अनुसार सुचिकृत गरी मजदुरहरुको स्वास्थ्य एवं जोखिम विमा गर्ने कार्यलाई आगामी आ.व २०७९/०८०  भित्रमा कार्यान्वयन गर्ने ।


७) नगर क्षेत्रभित्र विद्यालय जाने उमेर(५–१२) समूहका हालसम्म विद्यालयमा भर्ना हुन नसकेका  वालवालिकाहरुको पहिचान गरी आधारभूत तहको शिक्षाको पहुँचमा ल्याउने ।


८) नगरपालिकाबाट प्रवाह हुने सेवा प्रवाहलाई अझ बढी व्यवस्थित एवं प्रभावकारी बनाई शुसाशनको प्रत्याभुति गराउन प्रतिबद्धता व्यक्त गर्ने ।


९) स्थानीय तह निर्वाचन २०७९ मा सक्रिय सहभागिता जनाई सफलता पुर्वक सम्पन्न गरी निर्वाचन गराउन सहयोग पुर्याउनु हुने निर्वाचन अधिकृत, निर्वाचन आयोगको कार्यालय, सम्पूर्ण राजनितिक दलहरु, प्रत्यासी उम्मेद्वारहरु, संघ संस्था, प्रहरी प्रशासन, राष्ट्रसेवक कर्मचारी, सम्पूर्ण सञ्चारकर्मी मित्रहरु एवं नगरबासीहरुमा धन्यवाद ज्ञापन गर्ने ।