
झापा । एक नम्बर प्रदेशस्तरीय जुडो प्रतियोगिता बुधबारदेखि मेची रङ्गशालाको कभर्डहलमा सुरु भएको छ ।
पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा जिल्ला खेलकुद विकास समिति झापाको सह आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

मेची रङ्गशालाको कभर्डहलमा आयोजना भएको दुई दिने उक्त प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेलले गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि समन्वय समिति प्रमुख सोम पोर्तेल, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष शङ्कर थापालगायते शुभकामना दिए ।
सो कार्यक्रममा समाजसेवी गंगा प्रसाद ओली, जुडो संघका जिल्ला अध्यक्ष प्रा।डा पृथ्वी बिक्रम राई, जुडो फाउण्डर तथा बरिष्ट उपाध्यक्ष खड्क बहादुर दहाल, सचिव हेमराज भण्डारी, जुडो खेलको प्रमुख प्रशिक्षक वीरेन्द्र रञ्जीत, खेलकुद विकास समिति कोषाध्यक्ष धर्मराज सिवाकोटी,प्रशिक्षण प्रमुख टार्जन सुब्बा, कराते बरिष्ट प्रशिक्षक मदन उप्रेती, राजनीतिक दलका स्थानीय प्रमुख, विभिन्न सामाजिक तथा सङ्घ संस्थाका प्रतिनिधि, पत्रकार, विभिन्न खेल विधाका पदाधिकारी, प्रशिक्षक तथा खेलाडीको उपस्थिति थियो ।

झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष शंकर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सह आयोजक समिति उपाध्यक्ष प्रशान्त भण्डारी र सञ्चालन कार्यालय प्रमुख टहलदास मैनालीले गरे ।
आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि सुरु प्रतियोगितामा १।न। प्रदेश अन्तरगतका ५ वटा जिल्लाबाट ३६ जना खेलाडीको सहभागिता छ ।
जिल्लास्तरीय प्रतियोगिताबाट छनोट भएका १८ पुरुष र १८ जना महिला खेलाडीले प्रदेशस्तरीय प्रतियोगितामा सहभागी रहेका जुडोका प्रशिक्षक गंगा बहादुर खड्काले बताए ।
यही बिहिबार समापन हुने प्रदेशस्तरीय प्रतियोगितामा पुरुष र महिला खेलाडीबीच एकल प्रतिष्पर्धा हुने र छानिएका ७ महिला तथा ७ पुरुष खेलाडीले राष्ट्रिय प्र्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन् ।
प्रदेशस्तरीय जुडो खेल छनौटका लागि नेपाल जुडो खेलका संस्थापक खड्ग बदादुर दाहालको संयोजकत्वमा रहेको १५ सदस्यीय निर्णायक टोलीमा उक्त छनौट प्रतियोगिता सञ्चालन भई रहेको छ ।

