
काठमाण्डौं / सामाजिक अभियन्ता एवं चर्चित हाँस्य कलाकार जोडी धुर्मुस–सुन्तली यतिबेला भरतपुर १५ चितवनमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि खटिरहेका छन् ।
नेपालमा नै पहिलो जनस्तरबाट निर्माण हुन लागिरहेको यस रंगशालका लागि यतिबेला आर्थिक संकलनको कार्य देश तथा बिदेशमा चलिरहेको छ ।

राष्ट्रिय गौरवको रुपमा निर्माण हुन लागी रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा थप आर्थिक सहयोग जुटाउने उदेश्यले ‘मातृभूमि कप मैंत्रीपूर्ण क्रिकेट प्रतियोगिता’को आयोजना हुने भएको छ ।
धुर्मुस–सुन्तली फाउन्डेशनले यही चैत्र २३ गते काठमाडौंमा सो क्रिकेट प्रतियोगिता गर्ने भएको हो ।
आज काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दे काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदानमा सो क्रिकेट प्रतियोगिताको बारेमा जानकारी दिएका हुन् ।
रंगशाला निर्माणका लागि थप आर्थिक सहयोग जुटाउने उदेश्यले क्रिकेट प्रतियोगिता गर्न लागेको धुर्मुस सुन्तलीले जानकारी दिए । क्रिकेट रंगशाला बनाउन असम्भव रहेको भन्ने प्रतिक्रिया आईरहेको बेला उनीहरुले रंगशाला निर्माण गर्न गाह्रो भए पनि असम्भव भने नभएको बताए ।
रंगशालाको डिपिआर ६ महिना भित्र तयार हुने बताउँदै उनले रंगशाला निर्माणका लागि विभिन्न अनुभव भएका व्यक्तिहरुलाई अभियन्ताको रुपमा जोडिन पनि उनले आग्रह गरे ।

