खेलकुद

धरानलाई पराजित गर्दै आर्मी सेमीफाईनलमा प्रवेश

युवराज आचार्य
झापा, बैशाख १५ ।
जारी चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकप अन्तर्गत आइतबार भएको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरले काँकरभिट्टा माविको खेल मैदानमा आयोजना गरेको प्रतियोगितामा धरान फुटबल क्लब सुनसरीलाई २–१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी क्लब सेमीफाईनलमा प्रवेश गरेको हो।

खेलको पहिलो हापमा आर्मीको तर्फबाट २९ औं मिनेटमा टंक बस्नेतले गोल गरेका थिए । सन्तोष तामाङको पासमा बस्नेतले गोल गर्दै टीमको लागि गोलको खाता खोलेका थिए । ४० औ मिनेटमा धरानका मिलन राईले गोल गर्दै टिमलाई बराबरीमा पुर्याएका थिए । ४१ औं मिनेटमा सुमन अर्यालको पासमा आर्मीका स्ट्राइकर नवयुग श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाए । अत्यन्तै प्रतिस्पधात्मक भएको खेलको दुबै टिमले थुप्रै अवसरहरु सदुपयोग गर्न नसक्दा दोस्रो हापमा कुनै गोल हुन सकेन ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने आर्मीका सुमन अर्याल म्यान अफ दि म्याच घोषित भए । उनले नगद एघार हजार रुपैयाँ प्राप्त गरे ।

१० टिमको सहभागीता रहेको गोल्डकप विजेताले नगद १० लाख १ हजार पाउनेछ भने उपविजेताले नगद ५ लाख १ हजार पाउनेछ । सोमबार (भोली) हुने तेस्रो क्वाटरफाईनल खेल नेपाल पुलीस क्लब र पारो एफसी भुटान बीच दिनको ४ बजे हुनेछ ।

Leave a Reply

Your email address will not be published.