खेलकुद

संकटालाई पराजित गर्दै नेपाल पुलिस फाईनलमा प्रवेश

युवराज आचार्य
झापा, बैशाख १८ ।
जारी चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकप अन्तर्गत बुधबार भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।

काँकडभिट्टा माविको खेल मैदानमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले आयोजना गरेको प्रतियोगिता अन्तर्गत बुधबार भएको पहिलो सेमीफाइनल खेलमा नेपाल पुलिस क्लब काठमाण्डौंले सिएमजी संकटा क्लब काठमाण्डौंलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै अन्तिम दुईमा प्रवेश गरेको हो । यो जित संगै नेपाल पुलिसले नगद ५ लाख १ हजार सुरक्षीत गर्न सफल भएको छ । अब नेपाल पुलिसले उपाधिका लागि बिहिबार हुने अन्तिम सेमीफाईनल खेलको बिजेता रुस्लान थ्रीस्टार वा विभागिय टिम त्रिभुवन आर्मी क्लब संग शनिबार प्रतिस्पर्धा गर्ने भएको छ ।

खेलको दोस्रो हाफको २७ औँ मिनेटमा नेपाल पुलिस क्लबका मानबहादुर परियारले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेल ४२ औँ मिनेटमा संकटाका विदेशी खेलाडी फोफोना फोडेले हेडरबाट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

९० मिनेटको निर्धारित समयभित्र १-१ को बराबरी भएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पुलिस भाग्यमानी बन्दै फाइनलमा पुग्ने सुनौलो अवसर पाएको हो । फाइनलको यात्रा तय गर्न टाइब्रेकरमा पुलिसका तर्फबाट अजित भण्डारी, भरत शाह, तिर्थबहादुर राना, हरि कठायतले गोल गरेका थिए । पुलिसकै सुमन लामाको प्रहारलाई गोलरक्षक राजाबाबु थापाले बचाए । यता संकटाका अमित तामाङ, टम्पि इर्नेस्ट, दिपेश आले मगरले गोल गरे । रोमन लिम्बू र लक्ष्मण रुचालको प्रहारलाई पुलिसका गोलरक्षक रोशन खड्काले उत्कृष्ट बचाउ गरेपछि संकटाको फाइनल पुग्ने सपना अधुरै रहयो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने नेपाल पुलिसका मानबहादुर परियार म्यान अफ दी म्याच घोषीत भए । उनलाई नगद ११ हजार रुपैयाँ मेचीनगर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष ललित तामाङ्गले प्रदान गरेका थिए ।

१० टिमको सहभागीता रहेको गोल्डकप विजेताले नगद १० लाख १ हजार पाउनेछ भने उपविजेताले नगद ५ लाख १ हजार पाउनेछ । बिहिबार हुने अन्तिम सेमीफाईनल खेल रुस्लान थ्रीस्टार क्लब काठमाण्डौं र विभागिय टिम त्रिभुवन आर्मी क्लब काठमाण्डौं बीच दिनको ४ बजे हुनेछ ।

Leave a Reply

Your email address will not be published.