खेलकुद

पाञ्चायन फुटबल क्लब फाईनलमा प्रवेश

झापा, जेष्ठ २६ । प्रथम बिर्तामोड गोल्डकप अन्तर्गत आइतबार भएको खेलमा सुनसरीको पाञ्चायन फुटबल क्लब विजयी भएको छ ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सञ्चालन भएको अन्तिम सेमीफाईनल खेलमा पाञ्चायन फुटबल क्लबले आयोजक रेड स्टार फुटबल क्लबलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको हो । जित संगै पाञ्चायनले मंगलबार उपाधिका लागि बिर्तामोडको पूर्वेली युथ क्लब संगको भेट पक्का गरेको हो ।
निर्धारित समयमा आयोजक रेड स्टार फुटबल क्लब र पाञ्चायन एफसीबीच १–१ को बराबरी भएपछि खेल सोझै टाइब्रेकरतर्फ धकलिएको थियो । यसअघि दोस्रो हाफको १८ औँ मिनेटमा पाञ्चायनका कप्तान तीर्थ बस्नेतले उत्कृष्ट गोल गरेका थिए । रेड स्टारको डिफेन्स लाइन अगाडि बढेको मौका छोपी बस्नेतले बल बढाएका थिए । तर, केहीबेरमा गोलरक्षक र डिफेन्डर आए पनि बस्नेतले जाली चुमाए । त्यस्तै, खेलको २७ औँ मिनेटमा आयोजकका सञ्जोग राईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
खेलको म्यान अफ दी म्याच पाञ्चायनका गोल किप्पर अभिषेक खड्का घोषित भए । उनलाई बिर्तामोड नगर खेलकुद विकास समितिका अध्यक्ष टिका संग्रौलाले नगद तीन हजार रुपैयाँ प्रदान गरे ।
जारी गोल्डकपको विजेताले नगद १ लाख ५० हजार १११ र उपविजेताले ७५ हजार १११ रुपैयाँसहित ट्रफी पाउने छ ।

Leave a Reply

Your email address will not be published.