
झापा, जेष्ठ २७ । ब्लड क्यान्सर रोगबाट पीडित छोराको उपचारमा सक्दो सहयोग गरिदिन परिवारजनले अपिल गरेको छ ।
तनहुँको भानु नगरपालिका ६ का १९ वर्षीय छोरा अनुप बस्नेतको उपचारका लागि बुवा पदमबहादुर बस्नेतले यस्तो आग्रह गरेका हुन् ।
हाल काठमाडौंस्थित छाउनी अस्पतालमा उपचाररत् अनुपकी आमा राखीले भावुक हुँदै भनिन्–‘छाउनीमा राखेको ५ महिना भो, अहिलेसम्म १३ लाख रुपैयाँ सकियो, मनकारीको सहयोग बेगर त अब उपाय नै छैन ।’
‘उपचार गर्दा गर्दै भएको जायजेथा पनि सबै रित्तियो, अहिले ऋण खोजेर उपचार गर्दैछु’ बुवा पदमबहादुरले भने–‘काठमाण्डौंको साथ नेपाल संस्थाले ५० हजार सहयोग गर्यो, सबैको सहयोगको खाँचो छ ।’
त्यसअघि उनको पोखराको मणिपाल अस्पताल, चरक अस्पताल र गण्डकी अस्पतालमा उपचार गराइएको बताउँदै बस्नेत परिवारले बिरामी निको पार्न १८ लाख रुपैयाँ खर्च लाग्ने जनाएको छ ।
पोखराको शिवशक्ति माविमा कक्षा १२ मा अध्ययनरत् अनुपको उपचार गरी उनलाई पुर्नजीवन दिलाइदिन देश विदेशका सम्पूर्णमा परिवारजनले आग्रह गरेको छ ।
अनुपको उपचारमा आर्थिक सहयोग गर्न इच्छुकले मामा सुभाष लम्सालको नाममा एनआइसी एशीया बैंकमा खोलिएको खाता नम्बर १६०२९५६७२८६५२४०१ मा सोझै रकम पठाउन सकिने परिवारजनले बताएको छ ।
अनुपलाई सहयोग गर्न इच्छुक सहयोगी दाताहरुले आमा राखीको मोवाइल नम्बर ९८१४१९६९८० मा पनि सम्पर्क गर्न सकिने बस्नेत परिवारले जनाएको छ ।

