काठमाण्डौ, श्रावण १८ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि अहिले केही बेरमा सिंगापुर प्रस्थान गर्ने भएका छन् । स्वास्थ्यमा समस्या भएपछि प्रधानमन्त्री ओली अहिले बेलुका ९ः४५ बजे सिल्क एयरमार्फत सिंगापुर जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सिल्क एयरको पब्लिकले लिने बिसजेश क्लासको टिकटमा प्रधानमन्त्री ओली र नीजि चिकित्सक जाने बताईएको छ ।
ओलीको साथमा निजी चिकित्सक डा। दिव्यासिंह शाहलगायत सहभागी हुने बताइएको छ । सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा ओलीले करिब १ साता स्वास्थ्य परीक्षण गर्नेछन् । उनको के–के परीक्षण गरिँदैछ भन्नेबारे केही खुलाइएको छैन ।
प्रधानमन्त्री ओलीले सन् २००७ मा दिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालबाट मिर्गौला प्रत्यारोपण गराएका थिए । त्यसयता उनले दिल्ली र थाइल्यान्ड पुगेर स्वास्थ्य परीक्षण गर्ने गरेका छन् ।
यद्यपि, प्रधानमन्त्री भएपछि भने उनी नियमित स्वास्थ्य परीक्षणका लागि विदेश गएका छैनन् । यसअघि स्वास्थ्यमा समस्या भएपछि त्रिवि शिक्षण अस्पतालको मनामोहन कार्डिओथोरासिक एण्ड भाष्कुलर सेन्टरमा भर्ना नै भएर उनले उपचार गराएका थिए ।

