काठमाण्डौं, भाद्र १० । शालिकराम पुडासैनी जीवनत्याग दुरुत्साहन मुद्धामा धरौटीमा छुटेका चर्चित सञ्चारकर्मी रवि लामिछानेसहित ३ जनालाई अदालत झिकाउन समय तोकिएको छ । चितवन जिल्ला अदालतले आउँदो असोज ५ गते लामिछाने, अर्का सञ्चारकर्मी युवराज कँडेल र नर्स अस्मिता कार्कीका लागि साक्षी तारेख तोकेको हो ।
अदालतले सोमबार लामिछानेलाई ५ लाख , सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्की साधारण तारेखमा हिरासतमुक्त गरिसकेको छ ।
रवि लामिछानेले मंगलबार पत्रकार सम्मेलन गरी अदालतको आदेश शिरोधार्य गर्दै अगाडि बढ्ने बताएका छन् । उनले थप नयाँ उर्जाका साथ कार्यक्रममा आउने बताएका छन् ।
रवि लामिछानेसहितका तीन जनाको पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई मंगलबार छाडिएको छ । सो क्रममा सोमबारसम्म ४८ जना पक्राउ परेका थिए ।
पुडासैनी गएको साउन २० गते चितवन नारायणगढको एक होटलमा मृत भृटिएका थिए । पुडासैनीको मोबाइलबाट मृत्युअघि खिचेको भिडियो सार्वजनिक भएपछि आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा न्युज २४ टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता लामिछाने, सहकर्मी युवराज कँडेल र नर्स अस्मिता भनिने रुकु कार्की पक्राउ परेका थिए ।

