काठमाण्डौं, भाद्र २१ । चिनियाँ विदेश मन्त्री वाङ यी आइतबार नेपाल आउने भएका छन् । अनौपचारिक रुपमा उनको भ्रमण मिति पहिल्यै सार्वजनिक भइसकेको थियो ।
चिनियाँ विदेश मन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालयका अनुसार वाङको भ्रमण ८ देखि १० तारिख सम्म तीन दिनको हुने जनाएको छ । यस अघि उनको भ्रमण दुई दिने हुने बताइएको थियो ।
वाङको भ्रमण मिति शुक्रबार मात्र तय गरिएको हो । यो समयमा उनी भारत भ्रमणमा हुने तय थियो । चीन–भारत सीमा वार्ताका लागि वाङ भारत जाने तय थियो । सीमा वार्ताका लागि भारतले त्यहाँका सुरक्षा सल्लाहकार अजित डोभल र चीनले विदेश मन्त्री वाङ यीलाई विशेष प्रतिनिधि तोकेको छ । उनीहरु दुई बीच आउँदो सोमबार र मंगलबार वार्ता हुने तय थियो । तर, रद्द भयो । भारतीय सञ्चार माध्यमहरुले जनाए अनुसार भारतकै तर्फबाट वार्ता रद्द गरिएको हो ।
भारतका लागि तय गरिएको भ्रमण रद्द भएपछि सो समयमा वाङ नेपाल आउन लागेका हुन् । विदेशमन्त्री वाङ पाकिस्तान भ्रमणबाट नेपाल आउन लागेका हुन् । पाकिस्तान, अफगानस्तिान र चीन बीच इस्लामावादमा त्रिपक्षीय वार्ता हुँदैछ ।
वाङको भ्रमणका बेला नेपाल चीन बीच उच्चस्तरीय वार्ता हुनेछ । वाङले प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवासँग भेटघाट गर्नेछन् । वाङको भ्रमणलाई चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भावित भ्रमणको तयारी ठानिएको छ ।

