काठमाण्डौं, असोज २ । एन्जल डी मारियाको दुई गोलको सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले च्याम्पियन्स लिग फुटबलमा सहज जित दर्ता गरेको छ । बुधबार राति भएको खेलमा घरेलु टोली पीएसजीले स्पेनिस महारथी रियल मड्रिडलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
पीएसजीको घरेलु मैदानमा भएको खेलमा मुख्य खेलाडी विना नै मैदानमा उत्रिएका पीएसजीले १४ औं मिनेटमा खेलमा अग्रता बनायो । उसका लागि डी मारीयाले गोल गर्न सफल भए । एम्बाप्पे, काभानी, नेयमार नभएको खेलमा मारियाको प्रदर्शन सशक्त रह्यो । यता रियलका लागि इडेन हार्जाले रियलबाट पहिलो पटक सुरुवाती ११ मा खेलेपनि खासै राम्रो गर्न सकेनन् ।
घरेलु मैदानमा पीएसजीले ३३ औं मिनेटमा अग्रता दोब्बर बनायो । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको पीएसजी विरुद्ध रियलले दोस्रो हाफमा केही दबाब दिएको थियो । तर खेलमा फर्कन सकेन ।
त्यसको विपरित पीएसजीले खेलको इन्जुरी समयको पहिलो मिनेटमा तेस्रो गोल थप्न सफल भयो । जसका कारण रियलले पीएसजीको मैदानमा तीन शून्यको हार ब्यहोर्न बाध्य भयो ।

