झापा, असोज १ । संविधान दिवसको अवसरमा संविधान तथा राष्ट्रिय दिवस–२०७६ मुल समारोह समिति झापाले मावि स्तरिय छात्र/छात्रा मिनी म्याराथन आयोजना गर्ने भएको छ । असोज २ गते बिहीबार (भोली) बिहान ७ बजे भद्रपुर ५ स्थित मेची पुलबाट चन्द्रगढी ट्रेड युनियन चौकसम्म मिनी म्याराथन हुने संविधान तथा राष्ट्रिय दिवस–२०७६ जिल्ला मुल समारोह समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिए ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ । म्याराथनमा प्रत्येक विद्यालयका कक्षा ९ देखि १२ सम्मका अधिकतम ५ जना छात्र र ५ छात्रा सहभागी हुन व्यवस्था गरिएको छ । झापाका सबै पालिकाबाट म्याराथनमा भाग लिने विद्यार्थीहरूको नामावली जिल्ला खेलकुद विकास समिति झापाको कार्यालय आइसकेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहल दाश मैनालीले बताए ।
प्रतियोगितामा सहभागी भई प्रथम, द्वितीय, तृतीय, चौथो र पाचौं हुने छात्र/छात्रा विद्यार्थी लाई क्रमशः १० हजार, ८ हजार, ६ हजार, ४ हजार र दुई हजारका दरले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । म्याराथन दौडको प्राविधिक व्यवस्थापन जिल्ला खेलकुद विकास समिति झापा तथा प्राथमिक उपचारको व्यवस्थापन मेची अञ्चल अस्पताल र नेपाल रेडक्रस सोसाइटी झापा शाखाले गर्ने जनाईएको छ ।

