झापा, असोज १५ । नकलबन्दामा जारी अन्तर क्लवस्तरीय खुल्ला नकआउट फुटबल टुर्नामेन्टको क्वाटर फाइनल खेलबाट आयोजक सुन्दर युवा क्लब र धिमाल वस्ती युवा क्लब अन्तिम चारमा प्रवेश गरेका छन् ।
मेचीनगर–५ स्थित सुन्दर युवा क्लवको आयोजनामा गत शुक्रबारबाट सुरु भएको सो प्रतियोगिता अन्र्तगत बुधबार सम्पन्न पहिलो खेलमा नकलबन्दा युवा क्लबलाई २–० ले पराजित गर्दै आयोजक सुन्दर सेमिफाइनल प्रवेश गरेको हो । विजयी टिमका तर्फबाट प्रदीप राईले २ गोल गरेका थिए ।
त्यस्तै, दोस्रो खेलमा नेहालजोत भारतलाई टाइब्रेकरमा २–३ ले पराजित गरी धिमाल वस्ती युवा क्लबले सेमिफाइनलको यात्रा तय गरेको हो । उक्त खेलको निर्धारित समयअवधि समान १–१ गोलको बराबरीमा टुंगियो र, खेल निर्णयका लागि टाइब्रेकरमा धकेलियो । टाइब्रेकरमा धिमाल वस्ती भाग्यमानी सावित भयो ।
मदन टोलको खेल मैदानमा जारी प्रतियोगिता अन्तर्गत बिहीबार हुने पहिलो सेमिफाइनल खेलमा आदर्श धिमाल समाज र धिमाल वस्ती युवा क्लब तथा दोस्रोमा आयोजक सुन्दर र बाहुनडाँगी युवा क्लबबीच प्रतिष्पर्धा हुनेछ ।
मेचीनगरका विभिन्न वडाका १४ वटा क्लवहरु सहभागी उक्त प्रतियोगिताको फाइनल खेल शुक्रबार हुने आयोजकका सचिव तिलक बस्नेतले जानकारी दिए ।
प्रतियोगिताको उपाधि विजेताले २५ केजीको खशी र नगदराशी १० हजार तथा उपविजेताले १५ केजीको खशी र नगद ५ हजार रुपैयाँसहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।

