खेलकुद

ब्रुगसंग रियलको बराबरी

काठमाण्डौं, असोज १५ । युएईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा ब्रुग संग स्पेनिस क्लब रियल मड्रिडले बराबरी खेलेको छ ।

घरेलु मैदानमा मंगलबार राति भएको खेलमा दुई गोलले पछि परेको अवस्था उल्टाएर रियलले बराबरी खेलेको हो । पहिलो हाफमा २–० ले पछि परेको रियलले दोस्रो हाफमा दुई गोल फर्किएको थियो ।

सान्टियागो बेर्नाबेउमा खेलको नवौं मिनेटमा इमान्युएल डेनिसले गोल गर्दै ब्रुगलाई अग्रता दिलाएका थिए । खेलको ३९ औं मिनेटमा डेनिसले व्यक्तिगत दोस्रो गोल गर्दै ब्रुगलाई २–० को अग्रता दिलाए ।

तर, खेलको ५६ औं मिनेटमा कप्तान सर्जियो रामोसले गोल गर्दै रियललाई खेलमा फर्काउने कोशिस गरे । खेलको ८४ औं मिनेटमा रुड भोर्मेरले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा ब्रुग १० खेलाडीमा सिमित भएको थियो ।

त्यसको एक मिनेट नबित्दै ८५ औं मिनेटमा कासिमिरोले गोल गर्दै रियललाई हारबाट जोगाउन सफल भए । यो बराबरीसँगै समूह ए को रियलले पहिलो एक अंक जोडेको छ । समूह चरणको पहिलो खेलमा रियल पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग ३–० ले पराजित भएको थियो ।

२ खेलमा १ अंक जोडेको रियल पुछारमा छ । २ खेलमा २ अंक जोडेको ब्रुग दोस्रो स्थानमा छ । यस समूहमा ३ अंक जोडेको पीएसजी शीर्ष र १ अंक जोडेको गालतासारे तेस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published.