खेलकुद

आयोजकलाई पराजित गर्दै सिक्किम क्वाटरफाइनलमा प्रवेश

झापा, कात्तिक १६ । सिक्किम आक्रमणले अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपमा विजय यात्रा सुरु गरेको छ । शनिबारदेखि सुरु गोल्डकपको उद्घाटन खेलमा सिक्किमले आयोजकलाई ५–२ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । यो जितसंगै सिक्किम क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

जायोन स्पोर्टस् क्लबको आयोजनामा झापाको डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगितामा सिक्किमका करण राईले खेलको २९औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफ १–० गोलको नतिजामा टुंगिए पनि दोस्रो हाफमा आयोजकको गोलपोस्टमा गोलवर्षा भएको थियो । जसमा दोस्रो हाफको ६ मिनेटमै थप गोल गरेर सिक्किमका करण राईले उत्कृष्ट प्रदर्शन देखाए । करणको आक्रमणलाई आयोजकका गोलरक्षक अभिषेक रिजालले कुनै अन्दाज नै लगाउन सकेनन् ।

२–० गोलले पछि परेको अवस्थामा आयोजकले खेलको १५औँ मिनेटमा गोल गर्न सफल भयो । आयोजकका तपन कार्कीले उत्कृष्ट गोल गरेर खेलमा फर्किने प्रयास गरेका थिए । खेलमा आयोजकले सिक्किमको गोल पोस्टमा थुप्रै आक्रमण बुने पनि गोलरक्षक मनोज प्रधान विफल तुल्याइदिएका थिए ।

यसैबीच, सिक्किमका गणेश लिम्बूले खेलको ३८औँ मिनेटमा थप गोल गरेर ३–१ गोलको फराकिलो नतिजा बनाउन सफल भए । यस्तै, करण राईले खेलको ४०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । ४–१ गोलको फराकिलो नतिजामा आयोजकका टंकु लामाले गोल गरेर दूरी कम गर्ने प्रयास गरे पनि जीतका लागि सम्भव भएन । इन्जुरी समयमा सिक्किमका करण राईले थप गोल गर्दै व्यक्तिगत ४ गोल गर्न सफल भए ।

खेलको म्यान अफ दी म्याच सिक्किमका करण राई घोषित भए । उनले नगद १० हजार पाए । जायोन स्पोर्टस् क्लब झापाले आयोजना गरेको गोल्डकपमा नेपाल र भारतका १० टिम सहभागी छन् । आइतबार झापा ११ एफसीले नेपाल पुलिस टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजार र ट्रफी पाउनेछ । विधागत पुरस्कार विजेता खेलाडीले जनही १५ हजार पाउँदा उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउनेछ ।

यसअघि भएको औपचारिक कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गोल्डकपको उद्घाटन गरेका थिए । आयोजकका सदस्य गौरीमान राईले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता आयोजक क्लबका अध्यक्ष भक्त खवासले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.