खेलकुद

पुलिसलाई पराजित गर्दै चर्च ब्वाइज फाइनलमा

झापा, कात्तिक २३ । चर्च ब्वाइज युनाइटेड अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विभागीय टिम नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराउँदै चर्च ब्वाइजले फाईनल यात्रा तय गरेको हो ।

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आईतबार अन्तिम दुईका लागि भएको खेलमा पुलिसलाई १–० गोल अन्तरले स्तब्ध पार्दै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो ।

चर्च ब्वाइजको जितमा २६ औं मिनेटमा सुनिल खड्काले निर्णायक गोल गरे । भुवन बस्नेतको हेडरलाई पुलिसका गोलरक्षक शत्रुधन चौधरीले बचाएपछि आएको रिबाउन्ड बललाई सुनिलले पोस्टको जाली चुमाएका थिए ।

त्यसअघि पुलिस पेनाल्टीमा गोल गर्न चुकेको थियो । खेलको २३ औं मिनेटमा पुलिसका सुमन लामाले पेनाल्टीमा गोल गर्न सकेनन् । वान भर्सेज वानमा चर्च ब्वाइजका कप्तान विष्णु सुनुवारले सुमनलाई तानेर लडाएपछि पुलिसले पेनाल्टी पाएको थियो । तर, सुमनको पेनाल्टी प्रहारलाई चर्च ब्वाइजका गोलरक्षक विनय श्रेष्ठले उत्कृष्ट बचाउ गरेका थिए ।

यस्तै खेलको ५४ औं मिनेटमा पुलिस १० खेलाडीमा समेटिएको थियो । चर्च ब्वाइजका भुवन बस्नेतलाई लडाएपछि पुलिसका अन्जन राईले रातो कार्ड पाएका थिए ।

खेलको म्यान अफ दी म्याच निर्णायक गोलकर्ता चर्च ब्वाइजका सुनिल खड्का घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।

१० वटा टिम सहभागी गोल्डकपमा अब चर्च ब्वाइजले उपाधिका लागि फाइनलमा त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । फाइनल सोमबार हुनेछ ।

गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजारसहित ट्रफी पाउनेछ ।

Leave a Reply

Your email address will not be published.