झापा, मंसिर २० । किरात याक्थुङ चुम्लुङ मेचीनगर–५ ले लिम्बुहरुको महान् पर्व चासोक ताङनामको सन्दर्भ पारेर बृह्त सांस्कृतिक साँझ तथा रमाइलो मिनी मेलाको आयोजना गर्ने भएको छ ।
मंसिर २६ देखी २८ गते सम्म मेचीनगर–५ स्थित माङ्हिम परिसरमा बृह्त सांस्कृतिक साँझ तथा मिनी मेलाको आयोजना हुने शुक्रबार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ ।

लिम्बु समुदायको कला, संस्कृति रीतिरीवाजको जगेर्ना गर्दै युवा पुस्तामा आफ्नो कला संस्कृति प्रती उत्तरदायी बनाउने उद्देश्यले आयोजित मिनी मेलामा लिम्बु समुदायको साँस्कृति पहिचान झल्किने भेषभुषा, खानपिन हातहतियार, खेलका सामग्री राखिने आयोजक किरात याक्थुङ चुम्लुङ मेचीनगरका अध्यक्ष दिलीपजंग आङदेम्बेले जानकारी दिनुभयो ।
मेलामा रोटेपीङसहित बालबालिकाहरुका लागि मनोरञ्जनका खेल सामग्री राखिने छ ।
तीन दिने मेलाको पहिलो दिन सास्कृतिक झाकीसहित विविध कार्यक्रम हुने छ । दोस्रो दिन राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरु सहित बृह्त सास्कृतिक कार्यक्रक आयोजना हुने छ । त्यसै गरी अन्तिम दिन लिम्बु जातिको सांस्कृतिक खेल छेलो, तिर धनुषलगायत स्लो बाइक रेसिङ हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जनाएको छ ।
मेलामा राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरु गायीका रेजिना रिमाल, गायक तथा संगीतकार उत्तमजंग लावती छमछमी सिजन फोरका सेकेण्ड रनरअफ दीलमाया लिम्बुसहित स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने छ । महोत्सव सम्पन्न गर्न करीव २ लाख रुपैयाँ खर्च अनुमान गरिएको र उक्त रकम दाताहरुबाट संकलन गरिने बताइएको छ ।
चासोक तङनाम रमाइलो मिनी मेला आयोजक समितिका अध्यक्ष अमृत लावतीको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा कार्यक्रम सञ्चालन भूमीका सुब्बाले गरेकी थिईन् ।

