खेलकुद

वडास्तरीय फुटबल प्रतियोगिता हुँदै

झापा, मंसिर २५ । आगामी पुस ४ गतेबाट प्रथम मेचीनगर वडास्तरीय फुटबल प्रतियोगिता सुरु हुने भएको छ । मेचीनगर–८ नम्बर वडा खेलकुद समितिले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो प्रतियोगिता बारे जानकारी दिइएको हो ।

आयोजक समितिका संयोजक एवं सम्मेलनका सभापति सन्तोष मेचेले प्रतियोगिताको फाइनल खेल आउँदो पुस १५ गते हुने बताए । ग्रामिण भेग र वडास्तरबाट फुटबल विधाका दक्ष खेलाडी उत्पादन गर्न लागिएको सो प्रतियोगितालाई सभ्य, भव्य र व्यवस्थित रुपमा सम्पन्न गर्न तयारी तीव्र पारिएको उनले बताए ।

मेचीनगर–८ नम्बर वडा खेलकुद समिति आयोजक रहेको प्रतियोगिताको सह आयोजकमा आदर्श धिमाल समाज र सेन्ट्री युवा क्लव छन् ।

मेचीनगर–८ नम्बर वडा खेलकुद समिति कार्य समिति

आयोजक क्लवका सह संयोजक सागर लिम्बूले प्रतियोगितामा नगरका १५ वटा वडा खेलकुद समिति र आयोजक वडाको थप एउटा टिम गरी १६ वटा टिमले भाग लिने बताए ।

आयोजक समितिका सचिव तथा सम्मेलनका सञ्चालक रेवन्तराज पोखरेल (अर्जुन) ले प्रतियोगिता सम्पन्न गर्न ३ लाख रुपैयाँ खर्च पूर्वानूमान गरिएको जानकारी दिए । उनका अनुसार प्रतियोगिताका लागि मेचीनगर–८ नम्बर वडा कार्यालयले २ लाख रुपैयाँ बजेट उपलब्ध गराउने र थप रकम स्वेच्छिक रुपमा सहयोग संकलन गरी जुटाइने बताए ।

‘सहभागी टिमलाई प्रवेश शुल्क लाग्दैन, एन्फाबाट मान्यता प्राप्त रेफ्रिबाट खेलाउँछौं’ आयोजक समिति सदस्य विकास देवकोटाले भने–‘एउटा टिमबाट ७ जना खेलाडी हुन्छन्, प्रत्येक दिन एउटा खेल हुन्छ ।’

मेचीनगर–८ स्थित मेची विद्योदय आधारभूत विद्यालयको खेलमैदानमा हुने प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेता टिमले २६ हजार रुपैयाँ नगदराशी पाउनेछन् ।

सम्मेलनमा आयोजक समितिका सल्लाहकार सदस्यहरु कुन्दन निरौला, गोविन्द ओली, पवन मेचे, सह आयोजक आदर्श धिमाल समाजका अध्यक्ष सञ्जय धिमाल, सेन्ट्री युवा क्लवकी अध्यक्ष हिमा रायलगायतको आतिथ्यता थियो ।

Leave a Reply

Your email address will not be published.