खेलकुद

सताक्षी गोल्डकप; मच्छिन्द्र क्लव सेमिफाइनल प्रवेश

झापा, फागुन ७ । ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लव काठमाण्डौँ झापामा जारी तेस्रो सताक्षी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । गोर्खा ब्वाइज रुपन्देहीलाई २–१ गोलअन्तरले पराजित गर्दै मछिन्द्र प्रतियोगिताको अन्तिम चारमा पुगेको हो ।

झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंङ्गशालामा बुधबार सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा गोर्खा ब्वाइजले सुरुवाती अग्रता लिए पनि जित निकाल्न भने सकेन । खेलको १६ औँ मिनेटमा गोर्खा ब्वाइजका तर्फबाट विदेशी खेलाडी काजिमले गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले ओलाकेजीको पासलाई गोलमा परिणत गरे । दर्शकको राम्रो सपोर्ट पाएको गोखा व्वाईजको अग्रता पहिलो हाफको २५ मिनेट सम्ममात्र टिक्न सक्यो ।

मच्छिन्द्रका रञ्जित धिमालले गरेको कर्नर प्रहारलाई विदेशी खेलाडी आन्द्रेस निअले गोलमा परिणत गरिदिएर खेललाई वरावरीमा ल्याए । पहिलो गोल गरेको ८ मिनेट पछी खेलको ३३ औँ मिनेटमा मच्छिन्द्रले अग्रता दोब्बर बनायो । सरोज योञ्जनको हातमा बलले छुँदा पाएको पेनाल्टीलाई मच्छिन्द्रका विमल घर्ती मगरले गोलमा परिणत गरे ।

बुधबारको खेलमा पेनाल्टी गोल गरेका मछिन्द्रका विमल घर्तीमगर म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । अब मछिन्द्रले फाइनल प्रवेशका लागि त्रिभुवन आर्मीको सामना गर्नेछ । सतासीधाम स्पोर्टिङ क्लबको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत बिहीबारबाट सेमिफाइनलका खेलहरु हुनेछ । सेमिफाइनलको पहिलो खेल आयोजक सतासीधाम स्पोर्टिङ क्लब झापा र थ्री स्टार क्लबबीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *