काठमाडौं, फागुन २७ । आफ्नै श्रीमानलाई एसिड प्रहार गर्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । एसिड प्रहार हुनेमा काठमाडौं तारकेश्वर नगरपालिका–४, पुरानो गुहेश्वरीका २४ वर्षीय रामराजा थापा रहेका छन् । उनलाई घरमा सुतिरहेको अवस्थामा एसिड प्रहार भएको थियो ।
गएराति घरमा सुतिरहेका अवस्थामा उनकी श्रीमती प्रतिमाले एसिड प्रहार गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी सहायक निरीक्षक केशव न्यौपानेले बताए।
उनका अनुसार उनीमाथी एसिड प्रहार भएको बारेमा श्रीमतीले यकिन जानकारी दिइसकेको छैनन्। अनुसन्धानको क्रममा रहेको छ। घरको बनोट हेर्दा अरूले आएर हानेको जस्तो देखिँदैन, उनले भने, घरका सबै झ्याल ढोका बन्द छन्। घरका मान्छेले हानेको हुन सक्ने आशंका गरिएको हो। थप अनुसन्धानको लागि दुईजना व्यक्तिलाई सोधपुछ गरिरहेको उनले जानकारी दिए।
अहिले थापाको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ।

