समाचार

घरेलु मदिरा सेवनबाट धनुषामा १५ जनाको मृत्यु

धनुषा, चैत १ । घरेलु विषाक्त मदिरा सेवनका कारण धनुषामा १५ जनाकाे ज्यान गएकाे छ । शनिवार जनकपुरधाम उपमहानगरपालिका–७ स्थित मुसहरी टोलमा विषाक्त मदिरा सेवनले थप तीनको मृत्यु भएको छ । यससँगै  विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।

शनिवार मृत्युु हुनेमा मुसहरी टोलका बनारसी देवी सदा, मिथिला सदा र झगरु सदा रहेका छन् । होलीका अवसरमा रक्सी खाएका बनारसीदेवीको शुक्रबार साँझ र मिथिला र झगरुको शनिवार मृत्यु भएको हो । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयामा शुक्रबारसम्म १२ जनाको मृत्यु भइसकेको थियो । 

सबैको शुरुमा टाउको र पेट दुख्ने, बान्ता आउने, आँखा डम्म हुने र अन्ततः शरीर चिसो भएर मृत्यु हुने गरेको स्थानीयवासीले बताएका छन् । मदिरा सेवनकै कारण भरत मण्डल, ईश्वर महरा, शम्भु महरा, उपेन्द्र महरा र सीताराम यादव सिकिस्त बिरामी छन् । ईश्वरको सिटी अस्पताल जनकपुरमा उपचार भइरहेको छ । अन्यको पनि जिल्लाका अन्य स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ । 

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक पप्पु नायकले होलीमा अत्यधिक घरेलु मदिरा सेवन गर्दा उनीहरुको मृत्यु भएको बताए । निरीक्षक नायकले भने– ‘उनीहरूले स्थानीय पसलबाट मदिरा खाएको र कुन मदिरा खाएको हो पुष्टि गर्न अनुसन्धान थालेका छौँ ।’ उनले स्थानीय केही पसलबाट मदिरा नियन्त्रणमा लिएर विषालु हो/होइन जाँच गर्न पठाएको बताए । अवैध घरेलु मदिरा बेचेको आरोपमा स्थानीयवासी रामनन्द साह र तारापट्टीबाली भनिने छठियादेवी चौधरीलाई पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा राखेको उनले जानकारी दिए । 

सारा गाउँ शोकमग्न

अहिले विषाक्त घरेलु मदिराले निम्त्याएको मानवीय क्षतिका कारण सारा रमदैया गाउँ नै शोकमा डुबेको छ । मदिरा सेवनबाट मृत्यु हुनेहरु प्रायः गरिब विपन्न र दलित समुदायका छन् । दैनिक ज्याला मजदूरी गर्ने घरपरिवारमा कमाउने व्यक्तिको मृत्युपछि बालबच्चा, वृद्धवृद्धा बाबुआमा तथा श्रीमतीको बिच्चली हुने अवस्थामा छन् । 

७० वर्षीया वृद्धा सिलोचनादेवी मण्डलले शत्रुधन र रामविलास दुई जवान छोरा गुमाउनु परेको छ भने अर्का छोरा भरत पनि अस्पतालको सघन उपचार कक्ष ‘आइसियू’मा जीवनमरणको दोसाँधमा छन् । छोराहरु गुमाएको पीडा र अर्का छोराको गम्भीर अवस्थाबारे सुनेर वृद्धा सिलोचना पनि मुर्छा परेका छन् । घरीघरी होसमा आउँदा एउटै वाक्य दोहोराउँछिन् – ‘छोराहरुलाई भगवानले खोसे र म बूढी किन जिउँदै छु ।’

उनीहरु तीनैजना दाजुभाइले छिमेकी शम्भु चौधरीको पसलबाट घरेलु मदिरा ल्याएर पिएका थिए । अहिले घटनाबारे थाह पाएर शम्भु फरार छन् । त्यसैगरी मृत्यु हुनेमध्येका वैदेशिक रोजगारीमा मलेसिया रहेको रामविलास १० दिनअघि मात्रै घर फर्केका थिए । तीन छोरी र एक छोरा रहेका रामविलासको घरको आर्थिक अवस्था दयनीय छ । रामविलासकी श्रीमती फुलो देवी पनि अहिले अचेत अवस्था छिन्, फुलो देवी होसमा आउँदा रुँदै भन्छिन्– ‘मेरो संसार नै उजाडियो, घरमा कमाउने अब कोही छैन, २० लाख रुपैयाँ भन्दा बढी ऋण छ । अब कसरी तिर्ने ? छोरीहरूको विवाह कसरी गर्ने ?’

त्यस्तै मृत्यु हुने अर्का ब्रह्मदेव यादव अघिल्लो साता मात्र भारतको दिल्लीबाट फर्किएका थिए । दिल्लीमा एक चाइनिज कम्पनीमा काम गरिरहेका ब्रह्मदेव कोरोना त्रासका कारण कम्पनी तत्कालका लागि बन्द भएपछि घर फर्केका थिए । भाइसँग बसेर बुधबार मदिरा पिएका उनको बिहीबार दिउँसो मृत्यु भयो । शुक्रबार ज्यान गुमाएका इन्द्रजीत महराले सानो किराना पसल चलाएर घरपरिवार पाल्दै आएका थिए । अन्य मृतक रामविलास महरा र राजु महरासँगै बसेर उनले घरेलु मदिरा सेवन गरेर बिरामी भएका थिए । उपचारका लागि धरान लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भयो । 

डेढ वर्षअघि अञ्जु महरासँग विवाह गरेका इन्द्रजीतको ६ महिनाकी छोरी छिन् । घरमा कमाउने इन्द्रजीत मात्रै थिए । श्रीमानको मृत्युले अञ्जु पनि अचेत अवस्था छिन् । इन्द्रजीतकै घरको अवस्था रामविलास, राजु र गदरी महराको घरमा छ । उनीहरू सबै छिमेकी हुन् । 

नक्कली मदिरा उत्पादन र बिक्री

धनुषामा वार्षिक करीब तीन करोड रुपैयाँभन्दा माथिको नक्कली मदिरा उत्पादन र बिक्री वितरण भइरहेको छ । धनुषा प्रहरी स्रोतका अनुसार जिल्लामा दैनिक १० हजार लिटर अवैध घरेलु मदिरा उत्पादन हुन्छ । दैनिक पाँच हजार लिटर त जनकपुर बजारमै आउँछ । आन्तरिक राजश्व कार्यालय जनकपुरको तथ्याङ्क अनुसार धनुषामा क्षीरेश्वर डिस्टिलरी प्रालि, साङ्ग्रिला डिस्टिलरी प्रालि, छिन्नमस्ता डिस्टिलरी प्रालि र धनुषा डिस्टिलरी प्रालिले मात्र मदिरा उत्पादन गर्ने अनुमति प्राप्त गरेका छन् । 

त्यसैगरी सर्लाहीको अमरावती मधुशाला प्रालिले हरिवनमा रक्सीको कच्चापदार्थ स्प्रिट उत्पादन गर्ने अनुमति प्राप्त गरेका छन् । यसबाहेक उत्पादन हुने रक्सीहरु धनुषा, महोत्तरी र सर्लाहीमा अवैध मानिन्छन् । धनुषाका धनुषाधाम नगरपालिकाको धारापानी, मालटोल, राई होटेल, मगरटोल, गणेशमान–चारनाथ नगरपालिकाको वीरेन्द्र बजार, मिथिला नगरपालिकाको पुष्पवलपुर, मरधर क्षेत्रमा घरेलु मदिरा बढी उत्पादन हुने गरेको छ । 

क्षीरेश्वरनाथ नगरपालिकाको सखुवा बजार, मिथिला–विहारी नगरपालिकाको तारापट्टि, जनकनन्दनी गाउँपालिकाको बल्हा गोठ, जनकपुर उपमहनगरपालिकाको लादोवेला लगायत क्षेत्रमा पनि घरेलु मदिरा उत्पादन गर्ने भट्टी छन् । सस्तो हुने भएकाले निम्न आय भएका व्यक्तिहरू घरेलु उत्पादन नै खान्छन् । घरेलु मदिरा लिटरको डेढ–दुई सय रुपैयाँमा पाइन्छ । 

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले घटनाबारे अनुसन्धान शुरु भएको बताए । उनले घरेलु विषाक्त मदिरा सेवनका कारण यति धेरै मानवीय क्षति भएकाले घटनालाई गम्भीर रुपमा लिएर अनुसन्धान शुरु गरिएको जानकारी दिए ।

अनुसन्धानका लागि सात पक्राउ

धनुषामा विषाक्त घरेलु मदिरा सेवनका कारण मानवीय क्षति भएपछि प्रहरीले अनुसन्धानका क्रममा मदिरा बिक्री वितरण गर्ने सातजनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।  

पक्राउ पर्नेहरुमा महोत्तरीको भङ्गहा नगरपालिका–३ सखरी टोलका ४७ वर्षीय जगतनारायण मण्डल, धनुषाको लक्ष्मिनियाँ गाउँपालिका–६ को बगेवा गाउँका २४ वर्षीय नवीन यादव, ५० वर्षीय घुरन यादव, क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैया बस्ने ४५ वर्षीया तारापट्टीबाली भनिने छटियादेवी मण्डल, रमदैयाकै ४१ वर्षीय जयकुमार यादव, ४८ वर्षीय रामनन्दन साह र जनकपुरधाम उपमहानगरपालिका–१४ रजौल बस्ने ३५ वर्षीया शीतलदेवी यादव रहेका छन् । 

अवैध विषाक्त घरेलु मदिरा सेवन गरेका कारण नै भएको बताइए पनि मृत्युको वास्तविक कारण के हो भन्नेबारे अनुसन्धान जारी नै रहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । धनुषामा विषाक्त घरेलु मदिरा सेवनका कारण पछिल्लो दुई साताभित्र १५ जनाको मृत्यु भइसकेको छ । 

– रासस

Leave a Reply

Your email address will not be published.