विविध

१५ भारतीय मुस्लिम किशोर लुकेर बसेको अवस्थामा फेला

महोत्तरी, चैत २५ । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–५ बहेडा गाउँकाे एक घरमा सोमबार १५ भारतीय किशोर लुकेर बसेको अवस्थामा फेला परेका छन् ।

कोरोनाको रोकथाम तथा सङ्क्रमणबाट बच्न सरकारले लकडाउन गर्दै सीमानाका समेत बन्द गरेको अवस्थामा १५ किशोर सीमापारिबाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेर बहेडा गाउँमा आएर लुकेर बसिरहेको अवस्थामा फेला परेका हुन् ।

उनीहरु यही चैत २२ गते राति वनको बाटो हुँदै भारतको सीतामढी शहरबाट बहेडा गाउँमा आइपुगेका हुन् । तेह्र वर्षदेखि १८ वर्ष उमेर समूहका ती किशोर भारतको बिहारमा पर्ने किशनगञ्ज जिल्लाका हुन् । 

उनीहरु बहेडाकै एक साथीसहित भारतको उत्तर प्रदेशस्थित एक मदरसामा पढिरहेका थिए । भारतमा लकडाउनका बेला पढिरहेको मदरसाबाट आफ्नो घर किशनगञ्ज जिल्ला जाने क्रममा भारतको सीतामढीमा घेरिएपछि महोत्तरीका साथीसँग उनीहरु बहेडा आइपुगेको गाउँपालिकाका अध्यक्ष रामछविला रायले बताए ।

उनीहरु गाउँमा लुकेर बसिरहेको बारेमा गाउँपालिका अध्यक्ष साहलाई समेत जानकारी थिएन । प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकसहितकाले स्रोतको माध्यमबाट त्यसबारे जानकारी पाएपछि अध्यक्ष साहलाई जानकारी गराइएको थियो ।

अध्यक्ष साहले त्यसपछि वडा नं ५ का वडाध्यक्ष शेराजुद्दीन अन्सारीको सहयोगमा सोमबार भारतीय किशोरको खोजतलास गर्दा उनीहरु एक घरमा लुकेर बसिरहेको अवस्थामा फेला परेका हुन् ।

एकै घरमा फेला परेका ती सबै किशोरको तत्काल गाउँपालिकाको स्वास्थ्य टोलीद्वारा ज्वरो जाँच गर्दा अवस्था सामान्य रहेको पाइएको थियो । उनीहरुलाई तत्काल छुट्टै होम क्वारेन्टाइनमा १४ दिनसम्मका लागि राखिएको अध्यक्ष साहले बताए ।

यता सीमाक्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको सुरक्षाकर्मीको २४ घण्टे ड्युटी र कडा निगरानी रहेको बेला भारतीय किशोर समूहमै नेपाल प्रवेश गरेकामा उनीहरुको कामप्रति प्रश्नचिह्न उठेको छ । साथै स्थानीय बासिन्दा र वडाध्यक्षसमेतले गाउँमा नयाँ मानिस आएको कुरा प्रहरी प्रशासनलाई जानकारी नगराएर ठूलो लापरवाही गरेको आरोप सर्वसाधारणले लगाएका छन् । रासस

Leave a Reply

Your email address will not be published.