झापा, चैत २५ । विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को रोकथामका लागी नेपाल सरकारले गरेको लकडाउन कारण अतिविपन्न र ज्याला मजदुरी गरेर छाक टार्ने परिवारलाई समस्या भएको ले त्यस्ता परिवारको छनौट गरी मेचीनगर नगरपालिका वडा नम्बर ८ वडा कार्यालयले अति विपन्न तथा लक्षित परिवारलाई आईतबार देखि नै राहत सामग्री वितरण सुरु गरिसकेको छ ।
वडा कार्यालयले पहिलो दिन आईतबार वडाका १९ घरका विपन्न परिवारलाई राहत वितरण गरेको थियो । दोस्रो दिन सोमबार वडाका अन्य ४ सय ४१ विपन्न परिवारलाई राहत सामग्री वितरण गरीएको मेचीनगर ८ का वडा सदस्य सन्तोष मेचेले जानकारी दिए । उनका अनुसार वडामा ६ सय बढी विपन्न परिवारलाई राहत सामग्री वितरण गर्ने योजना भएको जनाउदै बाकी रहेका १ सय ४० विपन्न परिवारलाई मंगलबार आज वितरण गरीने बताए ।

वडाले ४ जना सम्म भएको परिवारलाई १० केजी चामल, ३ केजी आलु, २ केजी दाल, आधा लिटर तेल र १ प्याकेट नुन तथा ४ जना भन्दा माथी संख्या भएको परिवारलाई १५ केजी चामल सहित ३ केजी आलु, २ केजी दाल, आधा लिटर तेल र १ प्याकेट नुन वितरण गरीएको थियो ।

