काठमाडौं, चैत २८ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा ९५ हजार ७१४ जनाको मृत्यु भइसकेको छ । विश्वमा २०९ देशमा पुगेको कोरोना भाइरसबाट १६ लाख ३ हजार ४२८ जना संक्रमित भएका छन् ।
संक्रमितमध्ये ३ लाख ५६ हजार ४४० जना उपचारगरि घर फर्किएका छन् । अहिले ११ लाख ५१ हजार २७४ जनामा भाइरसको संक्रमण छ । उनीहरु विभिन्न अस्पताल तथा आइसोलेनमा उपचाररत छन् । उपचारमा रहेकामध्ये ४९ हजार १२५ जनाको अवस्था गम्भीर रहेको वल्ड मिटरले जनाएको छ ।
चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ । अमेरिकामा आजमात्रै ३३ हजार ५३६ जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै कोरोना भाइरस संक्रमितको संख्या ४ लाख ६८ हजार ५६६ पुगेको छ । बितेको २४ घण्टामा १ हजार ९ सय जनाले ज्यान गुमाउँदा अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ हजार ६९१ पुगेको छ ।
स्पेनमा पछिल्लो २४ घण्टामा ६५५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५ हजार ४४७ पुगेको छ । स्पेनमा एकैदिन ५ हजार २ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ५३ हजार २२२ पुगेको छ ।
स्पेनमा संक्रमितमध्ये ५२ हजार १६५ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने ८५ हजार ६१० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ३४१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १२ हजार २१० पुगेको छ । एकै दिन ४ हजार ७९९जना संक्रमित भएको भेटिएसँगै कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ७ सयभन्दा बढी पुगेको छ ।
फ्रान्समा संक्रमितमध्ये २३ हजार २०६ जना उपचारपछि निको भएका छन् । ७ हजार ६६ जनाको अवस्था गम्भीर रहेको छ । ८२ हजार ३३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

