राजनीति

नेकपाको सचिवालय बैठक आज , स्थायी समितिको बैठक पनि बस्ने

काठमाडौं, बैशाख १६ । सत्तारुढ नेकपाभित्र चुलिएको विवाद समाधानतर्फ अगाडि बढेको छ। विवाद समाधान गर्न पार्टीका दोस्रो तहका नेताहरु सक्रिए भएका छन् । नेताहरुबीच हिजो दिनभर भएका विभिन्न चरणका भेटघाट र छलफलपछि नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ। 

पार्टीभित्रको विवाद समाधान गर्न वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा बसेको पार्टीका नेताहरु आज सचिवालय बैठक बोलाउने निष्कर्ष निकाल्दै आजका लागि बैठक आह्वान गर्न सहमत भएका हुन् । सरकारले पछिल्लो समय राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदको कार्यक्षेत्र संशोधनसम्बन्धी अध्यादेश ल्याएपछि विवादमा तानिनुभएका प्रधानमन्त्री के पी ओलीको कार्यशैलीप्रति पार्टीभित्रै असन्तुष्टि बढेको छ । केही दिनदेखि विभिन्न एक्लाएक्लै, समूहमा, चरणमा भेटवार्ता भइरहेका छन् । 

पार्टी एकताका बाँकी कामले पूर्णता नपाएको, अनावश्यक अध्यादेश ल्याएको, उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन नगरिएको लगायतका विषयमा नेकपाभित्र विवाद देखिएको छ । 

बैठकमा सहभागी नेपाल पक्षका नेता रघुजी पन्तले आज सचिवालय बैठक बोलाउन नेताहरु सहमत भएको जानकारी दिनुभएको छ। आजको सचिवालय बैठकले  नै स्थायी समितिको बैठक बोलाउने बारे निर्णय पनि गर्ने उहाँले बताउनुभएको छ । बैठकमा ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, भीम रावल लगायतका नेताहरु सहभागी हुनुभएको थियो । 

हिजै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनालबीच पनि अलग्गै भेटवार्ता भएको छ। सो भेटमा खनालले नेपाल निवासमा भएको छलफल औचित्यहीन रहेको बताउनुभएको थियो । 

Leave a Reply

Your email address will not be published.