समाचार

बहुमतले प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौँ, जेठ ६  । सरकारको आर्थिक वर्ष २०७७/७८ को लागि प्रस्तुत नीति तथा कार्यक्रम बहुमतले प्रतिनिधिसभाबाट पारित भएको छ । गत २ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम दुई दिनको छलफलपछि प्रतिनिधिसभाबाट बहुमतले पारित भएको हो।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरूले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो। 

नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी कांग्रेसका तर्फबाट सांसद मीनेन्द्र रिजाल, जनमोर्चाकी सांसद दुर्गा पौडेल, नेमकिपाका सांसद प्रेम सुवाल, राजपाका सांसद लक्ष्मणलाल कर्ण र समाजवादीका सांसद सरिता गिरीले संशोधन प्रस्ताव राखेका थिए।

संशोधन फिर्ता लिनका लागि संशोधनकर्ता सांसदहरूलाई सभामुख अग्निप्रसाद सापकोटाले समय दिए पनि माग गरिएका विषय नीति तथा कार्यक्रममा सम्बोधन नभएको भन्दै उनीहरूले संशोधन प्रस्ताव फिर्ता नलिएपछि बहुमतले अस्वीकृत भएका थिए।

Leave a Reply

Your email address will not be published.