विचार

लकडाउन खुल्यो, जोखिम बढ्यो

काठमाडौं, साउन ८ । सरकारले कोरोना संक्रमण रोकथामको कुनै आधार तयार नगरि लकडाउन हटाएको स्वास्थ्य विज्ञहरुले आरोप लगाएका छन् । सरकारले चैत ११ गते देखि जारी लकडाउन साउन ६ बाट हटाएसंगै विज्ञहरुले यस्तो आरोप लगाएका हुन् ।

विज्ञहरुले कुनै पनिबेला कोभिड–१९ को संक्रमण व्यापक हुने चेतावनि पनि दिएका छन् । लकडाउन खोलेपनि संक्रमितको संख्या देखिने र बढ्ने भएकोले सरकारले यसका लागि आवस्यक कुनै तयारी नगरेकोमा गम्भिर आपत्ति जनाएका छन् ।

अहिले संक्रमित दिनहुँ देखिराखेकै अवस्था छ, बुधबार पनि सरकारले दुई जनाको मृत्यु भएको बताइरहेको छ । यस्तोमा लकडाउन टुंगियो भन्दा अलि नमिलेजस्तो देखिन्छ, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले भने । लकडाउन खोल्न केही आधारहरू पूरा गर्नैपर्ने हुन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले समेत चारवटा आधार भए मात्र लकडाउन हटाउन सकिने भनेको छ, तर नेपालले यो पालना गरेन ।

डा. कार्कीका अनुसार डब्लूएचओले तोकेको आधारअन्तर्गत लकडाउन हटाउन संक्रमितको संख्या अत्यन्तै कम हुनुपर्नेछ । लकडाउन हटाएपछि जोखिम अझै बढ्ने भएकाले संक्रमितको उपचार गर्न विशेष र अत्यन्तै राम्रो हिसाबले अस्पतालको तयारी गरिनुपर्छ । स्वास्थ्य जनशक्ति, भेन्टिलेटर, आईसीयू बढाउनुपर्छ । पीसीआर परीक्षणको दायरा व्यापक बनाउनुपर्छ । लकडाउन खुलेपछि आम व्यक्ति काममा फर्किने भएकाले कार्यालय वा कार्यस्थलमा सुरक्षित साथ काम गर्ने वातावरण सम्बन्धित कार्यालयले मिलाउनुपर्छ ।

कार्यालयमा कर्मचारी संक्रमणबाट जोगिने सुनिश्चितता हुनुपर्छ । लकडाउनपछि कसरी सुरक्षित हुने भन्नेबारे सर्वसाधारण सुसूचित हुनुपर्छ । लकडाउन खुलेपछि नयाँ सामान्यीकरणमा सुरक्षित हुने वातावरण राज्य र सम्बन्धित निकायले बनाउनुपर्छ । डब्लूएचओले तोकेका चारवटै आधार पूरा भएको सुनिश्चिततापछि मात्र लकडाउन खोल्ने हो, डा। कार्कीले भने । अरू त अरू, हामीकहाँ लकडाउन हुँदा र खुलेपछि बिरामीको उपचारका लागि अस्पतालको तयारीसमेत खासै फरक छैन ।’

सरकारले डब्लूएचओका कुनै पनि आधार पूरा नगरेकोमा असन्तुष्टि जनाउँदै उनले भने, अब कुनै पनि बेला संक्रमित संख्या बढ्न सक्छ र पुनः लकडाउनमा फर्किनुपर्ने हुन सक्छ । विभिन्न मुलुकको अनुभव, अन्तर्राष्ट्रिय मापदण्ड र डब्लूएचओको सुझावअनुसार लकडाउन खोलेपछि संक्रमितको संख्या बढ्ने गरेको छ । संक्रमित बढ्छ भनेर हेक्का राखेर, सबै पूर्वतयारी गरेर मात्र लकडाउन खोल्ने हो, हामीकहाँ लकडाउन सुरु भएका बेला र अहिलेको अवस्था तुलना गरेर हेर्ने हो भनेपछि आईसीयू र भेन्टिलेटर संख्यासमेत बढेको छैन, डा। कार्कीले भने ।

नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। मदनकुमार उपाध्यायले पनि जोखिम झनै बढेको बताए । देश काठमाडौं मात्र हैन । हालसम्म समुदायमा संक्रमणको अवस्था जान्न स्क्रिनिङ गर्न सकेका छैनौं । समुदायमा संक्रमण छरछैन सुनिश्चित गरेपछि मात्र लकडाउन खोलिनुपर्थ्यो । बारा र पर्साकै कुरा गर्ने हो भने पनि एकै दिन ५० जनासम्म संक्रमित देखिने गरेका छन् । सरकारले विज्ञहरूको सहयोग नलिएकाले स्थिति भयावह हुन सक्ने उनको भनाइ छ ।

सरकारले अर्थतन्त्र चलायमान बनाउन लकडाउन खोलेको देखिएको स्वास्थ्य मन्त्रालयका पूर्वसचिव डा। प्रवीण मिश्रले बताए । सरकारले योजनाबद्ध रूपमा लकडाउन खोल्नु पर्थ्यो, सायद आर्थिक अवस्था हेरेर खोलियो, उनले भने । अब लकडाउन खुलेपछि अपनाइने सरकारी मापदण्ड पूर्ण पालना गर्नुपर्छ, घरबाहिर निस्कँदा स्वास्थ्य सुरक्षाको उपाय नअपनाए स्थिति भयावह हुन सक्छ ।

Leave a Reply

Your email address will not be published.