समाचार

अबैध गाँजा सहित २ जना पक्राउ, हराएका मोबाइल सम्बन्धित धनीलाई जिम्मा लगाइयो

नरेन इलामेली
इलाम, भदौ १० ।
अबैध गाँजासहित इलामबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको माङ्सेबुङ्ग गाउँपालिका ५ का १९ बर्षिय प्रेम राई र सोही स्थानका १७ बर्षिय अमिर लिम्बू रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई प्रहरीको गस्ती टोलीले जिल्लाको चुलाचुली गाउँपालिका ५ चपेटीबाट सोमबार पक्राउ गरेको हो । उनीहरुको साथमा रहेको झोला चेकजाँच गर्ने क्रममा अन्दाजी दुई किलोग्राम गाँजा फेला परेपछि पक्राउ गरी जिल्ला प्रहरी कार्यालय इलाममा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ

फरार प्रतिबादी पक्राउ

फैसला कार्यन्वयन अन्तर्गत अदालतबाट दोषी प्रमाणित भई ठगी मुद्दाका फरार एक प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका ३ का ३४ बर्षिय अनिष गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । गुरुङलाई खोजतलास गर्ने क्रममा प्रहरीको टोलीले इलाम नगरपालिका ७ बाट पक्राउ गरेको हो । गुरुङलाई अदालतबाट २०७६ साल माघ २३ गते एक बर्ष कैद र एक लाख ५० हजार जरिवाना तोकिएको थियो ।

हराएका मोवाइल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाइयो

इलामबाट विभिन्न समयमा हराएका ४ थान मोवाइलहरु प्रहरीले फेला पारी सम्बन्धित मोवाइल धनीलाई बुझाएको छ । जिल्लाको इलाम नगरपालिका ८ की खेमकुमारी दाहालको सामसुङ ए २ एक थान, इलाम नगरपालिका १२ की इन्द्रमाया लिम्बूको ओप्पो मोवाइल एक थान, इलाम नगरपालिका ९ का कमल प्रसाद मैनालीको समासुङ ए १० एक थान र सूर्योदय नगरपालिका १४ का टंक आलेको सामसुङ जे २ एक थान मोवाइल फेला पारी प्रहरीले सम्बन्धित मोवाइल धनीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।